Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सन् २०१७ मा सकारात्मक दिशातर्फ विश्व अर्थतन्त्र

सन् २०१७ मा सकारात्मक दिशातर्फ विश्व अर्थतन्त्र

काठमाडौं, पुस १६ । सन् २०१७ मा विश्व अर्थतन्त्रमा सामान्य सुधार देखिएको छ । खासगरी चीन, जापान, युरोपेली संघ, रुस तथा केही एसियाली मुलुकहरुमा लगानी, व्यापार, औद्योगिक उत्पादनमा वृद्धि जस्ता अनुकल परिस्थितिका कारण विश्व अर्थतन्त्र ३.६ प्रतिशतले विस्तार हुने अपेक्षा गरिएको छ ।
सन् २०१७ मा विश्वकै ठूलो अर्थतन्त्र अमेरिकामा रोजगारीको अवस्थामा आएको सुधार र फेडरल रिजर्भले ब्याजदर परिवर्तन गर्ने अनुमानका कारण अमेरिकी मुद्रा डलर मजबुत रह्यो । सन् २०१७ को सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सहित १२ देशहरु सहभागी रहेको ट्रान्स प्यासिफिक पार्टनरसीप फिर्ता लिने आदेश जारी गरे । विश्व अर्थतन्त्रमा ४० प्रतिशत हिस्सा ओगट्ने एक दर्जन राष्ट्र सहभागी भएको यो साझेदारीबाट अमेरिका पछि हट्दा यसले विश्वभर एक खालको संशय पैदा गर्यो । सन् २०१७ को उत्तराद्र्धमा अमेरिकी राष्ट्रपति ट्रम्पले एसियाली देशहरुको भ्रमण गरेर अमेरिका र एसियाली देशहरुको सम्बन्धलाई बढावा दिन चाहेको सन्देश दिन खाजेपनि ट्रम्पको अनुदार नीतिका बारेको संशय उनले मेट्न सकेनन् । विश्व व्यापार संगठनका सम्बन्धमा पनि ट्रम्पको नकारात्मक अभिव्यक्तिका कारण विश्वभर व्यापार र लगानीका सम्बन्धमा यसअघि विश्वको ठूलो अर्थतन्त्र अमेरिकाले देखाएको उदारतामा शंका गर्ने वातावरण रह्यो ।
सन् २०१७ मा अमेरिका १८०० अर्ब डलरको कुल गार्हस्थ उत्पादनसहित पहिलो अर्थतन्त्रका रुपमा रह्यो भने दोस्रो स्थानमा चीन ११०० अर्ब डलरसहित दोस्रो स्थानमा रहेको छ । सन् २०१७ मा चीनको निर्यात विगत वर्षहरुको तुलनामा केही खस्केको भएपनि चीनको आर्थिक वृद्धिदर झण्डै ७ प्रतिशतको हाराहारीमा रहनेछ भने अमेरिकाको आर्थिक वृद्धिदर दुई प्रतिशतभन्दा कम हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको आँकलन छ । चिनियाँ सेयरबजारमा आएको मन्दीका तथा निर्यातमा गिरावटका बाबजुद पनि चीनले उच्च आर्थिक वृद्धिदरको छलाङ कायमै राखेको छ । निर्यात व्यापारमा कमी आएपनि आन्तरिक उपभोग बढाएर चीनले अझै केही वर्ष उच्च आर्थिक वृद्धिदरलाई निरन्तर राख्न सक्ने विश्लेषकहरु बताउँछन् ।
सन् २०१७ मा बेलायत युरोपेली संघबाट बाहिरिने जनमत संग्रहको निर्णय कार्यान्वयनमा आएको छ । युरोपेली संघबाट बाहिरिएपछि बेलायती अर्थतन्त्रमा भने नकारात्मक प्रभावहरु देखिएका छन् भने युरोपेली संघको अर्थतन्त्र सुधारोन्मुख छ ।
भारतले सन् २०१७ मा व्यवसाय गर्ने वातावरणमा उल्लेख्य सुधार गरेको छ । अघिल्लो वर्षको तुलनामा व्यवसाय गर्ने वातावरणमा भारत ३० स्थान अघि आएको छ । व्यवसाय गर्न अनुकुल १०० देशहरुभित्र भारत पर्नुलाई भारतमा कर प्रणालीमा भएको सुधार तथा प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इण्डिया, डिजिटल इण्डिया, स्कील्स इण्डिया जस्ता अभियानले टेवा पुर्याएको विश्लेषण भारत सरकारको छ ।
सन् २०१७ मा चीन विश्वव्यापीकरणको वकालत गर्ने राष्ट्रको रुपमा अग्रपंक्तिमा देखियो । खासगरी उदारवादका हिमायती अमेरिका, बेलायत जस्ता राष्ट्रहरुले बन्द अर्थव्यवस्थातर्फ झुकाव राख्न थालेको बेला कम्युनिष्ट देश चीनले भने बेल्ट एण्ड रोड परियोजनामार्फत् विश्वलाई सडक र सामुद्रीक मार्गबाट जोड्ने योजनालाई सशक्त रुपमा अघि बढाएको छ ।
सन् २०१७ मा विश्व अर्थतन्त्रमा रोजगारी सिर्जनामा भने कमी आएको छ । सन् २००८—९ को विश्वव्यापी आर्थिक मन्दीपछि पुनः बेरोजगारको संख्या बढ्न लागेको हो अहिले विश्वभर ७० करोड मानिसहरु बेरोजगार रहेको आँकलन गरिएको छ । खासगरी श्रम सघन उद्योग, निर्माणभन्दा सेवामूलक उद्योग व्यवसाय वृद्धि हुँदै जाँदा रोजगारी सिर्जनामा कमी आएको अनुमान गरिएको छ । सन् २०१७ मा सबै राष्ट्रहरुले सन् २०३० सम्म हासिल गर्नुपर्ने विश्वव्यापी विकास लक्ष्यहरुलाई आफ्ना नीति, कार्यक्रमहरुमा समाहित गर्दै अघि बढाएका छन्, जसले विश्व अर्थतन्त्रमा ‘हरित आर्थिक वृद्धि’लाई प्रोत्साहन गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x