प्लाष्टिकजन्य फोहोर व्यवस्थापनको दिगो समाधानका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्ने
काठमाडौं, ५ भदौ । प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन् । नेपाल उद्योग परिसंघको वातावरण समिति तथा प्लाष्ट नेपाल फाउण्डेशनको सहकार्यमा भाद्र ४ गते काठमाडौंमा आयोजित प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सरकार र निजी क्षेत्रले वातावरण सरंक्षणमा नयाँ कार्ययोजना तय गरेर सहकार्य गर्न सहमति जनाएका हुन् ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले औद्योगिक उत्पादनले वातावरणमा पार्ने प्रभावको मुल्याङ्कन र त्यसका नकारात्मक असर कम गर्न तीनै तहका सरकार तथा सरकारी निकायहरु र निजी क्षेत्रले मिलेर काम गर्नु पर्ने समय आएको बताए । वन तथा वातावरण मन्त्रालयले यसमा पहल लिन सुझाव दिदै उद्योग मन्त्री यादवले त्यस्तो पहललाई लिएर अघि बढ्न उद्योग मन्त्रालय तयार रहेको बताएका हुन् ।
सो अवसरमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दिगो विकासलाई केन्द्रमा राखेर प्लाष्टिकको प्रयोग कम गर्ने तथा पुनः प्रयोगका लागि प्रोत्साहन गर्ने नीति लिएको बताए । काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोरको पुनः प्रयोग तथा व्यवस्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य गर्न महानगर तयार रहेको बताए ।
सोहि अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघ र यसमा आवद्ध उद्योगी–व्यवसायीहरुले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको बताए । अध्यक्ष मोरले होग्सी शिबम् सिमेण्ट उद्योगले फोहोर प्रशोधनबाट १२ मेगावाट ऊर्जा निकालेर उपयोग गरेको भन्दै वातावरणमा ध्यान दिँदा उत्पादन मूल्यमा समेत बचत भएको जानकारी दिए ।
कार्यक्रमका स्रोत व्यक्तिको रुपमा बोल्दै सियाली दिगो विकास अभियानका प्रमुख नोरम्यान चुवाले प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सिंगापुर, चीन र अन्य एसियाली मुलुकले अपनाएका असल अभ्यासबारे विस्तृत जानकारी गराए ।