Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सेयर लगानीकर्तामा चुलिदो नैराश्यता, जानकार भन्छन : सरकारले सकारात्मक कदम नचाले बजारले तत्काल गति लिदैन

शंकर पण्डित काठमाडौं, १८ भदौ । पछिल्लो केही वर्ष नेपालको सेयर बजारमा उत्साहजनक सुधार हुन सकेको छैन । सरकारले बजार सुधारको प्रयास स्वरुप विभिन्न नीतिगत व्यवस्थाहरु गरेपनि त्यसको प्रभाव न्यून छ । बजारमा अल्पकालिन उतार चढाव मात्र भइरहेको छ । त्यसले लगानीकर्ताहरुलाई उत्साही बनाउन सकेको छैन ।

घट–बढ बजारको स्वभाविक नियम हो । तर पनि माग भन्दा आपूर्ती बढी, बैंकको ब्याजदरको बृद्धि र नियामक निकायले ल्याउने प्रायः नीतिको दुविधाको प्रभावले बजार माथि उक्लिन नसकेको जानकारहरु बताउछन् । सेयर बजारमा आवद्ध कम्पनीहरुको पुँजी बृद्धि भएको छ । सो अनुपातमा कम्पनीहरुको मुनाफामा प्रगती भएको छैन,त्यसको प्रभाव पनि बजारमा पारेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउछन् । दशैपछि बजारमा सुधारको संकेतहरु देखापर्ने उनको विश्वास छ । ‘नेपालको पुँजी बजारको भविष्य सुनौलो छ । अहिलेको अवस्था हेरेर आतिहाल्नुपर्ने अवस्था छैन । अहिले त विभिन्न बैंक तथा वित्तीय संस्थाको प्रतिफल लिने बेला होे भने दशै सम्ममा मानिसलाई अलि बढी पैसा चाहिन्छ । त्यतातिर सबै केन्द्रित हुने परम्परा छ । त्यसकारण दशैपछि चाही बजार क्रमश सुधारोन्मुख बाटोमा जान्छ ।’ उनले भने ।

तीन वर्षअघि नेप्से सर्वाधिक उचाई १८८१ को बिन्दुमा थियो । तर अहिले परिसूचक १२ सय भन्दा तल झरेको छ । आज बजार ११९४.७७ को बिन्दुमा थामिएको छ। यो अवधिमा लगानीकर्ताहरुले धेरै रकम गुमाइसकेका छन् । त्यसले लगानीकर्ताहरुको मनोवल गिरेको छ । सरकारी निकायले विशेष चासोका साथ नीतिगत र प्रणालीगत सुधारको कामलाई अघि बढाउन नसक्दाको प्रभाव बजारमा परेको सेयर लगानीकर्ता संघ अध्यक्ष उत्तम अर्याल बताउछन् । सेयर बजार कोमामा जान लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘नीतिगतरुपमा अन्योलता छ, देशको अर्थतन्त्रको ऐन भनिने सेयर बजारमा सरकारको कुनै सहयोग छैन ।, उनले भने, ‘अर्थमन्त्रालय, नेप्से, धितोपत्र बोर्डका प्रतिनिधिहरुले त भन्लान हामीले पुँजीगत लाभकर घटाई दिएकै छौं । त्यो घटाएको के भने पहिला अनावश्यक लगाउनु भएको थियो । त्यसलाई जस्ताको त्यस्तै गरिदिएको मात्र हो । त्यसमा हामीलाई माया गरेर केही दिएको होइन ।’

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत पुँजीगत लाभकर ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झारेको छ । ५ प्रतिशत रहेको पुँजीगत लाभकर गत आर्थिक वर्षको बजेट मार्फत बढाइएको थियो । बजारको सुधारका लागि सरकारले लगानीकर्ताहरुको मनोवल उकास्नु पर्ने अर्यालले बताए । त्यसका लागि पुँजीगत लाभकरको समस्या तत्काल हल गर्नु र अन्य नीतिगत अन्योलतालाई समेत चिर्नुपर्ने सुझाव उनको छ।

‘बजारमा माग र आपूतिको नियमले काम गर्छ । बजारले गति लिनको लागि माग बढुनुपर्छ । माग कसरी बढ्छ भन्दा बजारमा भएका सेयरहरु आकर्षित हुनपर्यो, दोस्रो लगानीकर्ता आशावादी हुनुपर्यो की बजारमा राम्रो भइराछ भन्नेमा, सेयर बजारका जानकार भरत थापाले भने, अहिले यो दुबै काम भइरहेको छैन । प्यानल, पुँजीगत लाभकरबारे अझै अन्योलता छ । ब्रोकर लाइसेन्सको कामले पनि गति लिन सकेको छैन ।’ सरकारले तत्काल सुधारका कामहरु नगरे तत्काल बजारले सुधारको बाटो समात्ने संकेत नदेखिएको उनले बताएृ ।

‘सन् १९९६ देखि अहिले सम्मको नेप्सेको इन्डेक्स हेर्नु भो भने चार–चार वर्षमा बजार बुम र बुल भएको देखिन्छ । सन् १९९६ मा १५० को हाराहारीमा रहेको नेप्सेको इन्डेक्स सन् २००० मा गएर चार वर्षपछि ५०० भएको देखिन्छ । सन् २००४ मा त्यो फेरी घटेर १९८ जति भएको देखिन्छ । सन् २००८ मा गएर हेर्नुस् फेरी ११७५ भएको छ सन् २०१२ मा त्यो घटेर २९० को हाराहारीमा छ भने २०१६ मा १७, १८ सयको हाराहारीमा पुगेको देखिन्छ । यसरी प्राविधिहरुपमा हेर्ने हो भने सन् २०२० सम्म बजार बढ्ला जस्तो देखिदैन । किन की प्राविधिकरुपमा भन्दा सन् २०२० मा बजार घट्नुपर्छ ।’
बजार सुधारका लागि सरकारले तत्काल लगानीकर्ताहरुलाई हौस्याउन नीतिगत कामहरु गर्नुपर्नेमा उनले सुझाव दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x