धरौटी रकम बढाउँन नसकेपछि ३०३ वटा म्यानपावर कम्पनी खारेज हुने
काठमाडौ १९ भदौ । सरकारले तोेकेको समयमा धरौटी रकम बढाउँन नसक्ने ३०३ वटा म्यानपावर कम्पनीको लाईसेन्स खारेज हुने भएको छ । बैदेशिक रोजगार विभागका अनुसार विहीबारसम्ममा निश्चित तथ्यांक आईपुग्ने भएकाले एक दुई संख्या थपघट हुन सक्ने बताएको छ । कम्पनीहरुले भदौ १८ गतेसम्ममा धरौटी रकम बढाउँनुपर्ने थियो ।
विभागका अनुसार ८ सय ४८ म्यानपावर कम्पनीले धरौटी रकम बढाएका छन् । विभागको तथ्यांक अनुसार इजाजातपत्र लिने कम्पनीको संख्या १ हजार ५२७ छ । जसमध्ये २०४ वटा खारेज भै सकेका छन् । भदौ १ गतेसम्म १ हजार ३२३ वटा कम्पनी कानुनी रुपले अस्तित्वमा रहेका छन् । कारोबार रोक्का र निश्क्रिय रहेका कम्पनीले पनि धरौटी बढाउँन पाउँनेछन् ।
विभागका अनुसार ३०३ वटा म्यानपावर कम्पनीले मर्जरका लागि आवेदन दिएका छन् । यि कम्पनीहरु गाभिएर १३१ वटा कम्पनी बन्ने भएका छन् । मर्जरका लागि आवेदन दिएका कम्पनीमध्ये ६ वटा म्यानपावर कम्पनी गाभिएर एउटा कम्पनी बन्ने भएको छ । त्यस्तै, पाँच÷पाँच वटा कम्पनी गाभिएर दुई वटा कम्पनी बन्ने भएका छन् । चार÷चार वटा कम्पनी गाभिएर बन्ने नौ वटा कम्पनी छन् । तीन÷तीन वटा कम्पनी गाभिएर बन्ने कम्पनीको संख्या १३ वटा छ । दुई÷दुई कम्पनी गाभिएर बन्ने कम्पनीको संख्या १०६ छ ।