Date

शनि, साउन १२, २०८१
Sat, July 27, 2024

पुनर्निर्माण र स्मार्ट सिटी विकासमा कोरियाले सहयोग गर्ने

पुनर्निर्माण र स्मार्ट सिटी विकासमा कोरियाले सहयोग गर्ने

काठमाडौं २० भदौ  । काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको पुनर्निर्माण र स्मार्ट सिटीहरुको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ । ऐतिहासिक महत्वका काठमाडौं उपत्यकाका साँखु, बुङमती र खोकनाको परम्परागत बस्तीहरुको पुनर्निर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरुमा स्मार्ट सिटी बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काठमाडौं उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनबीच सियोलमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार पहिलो चरणमा सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसनले प्राचीन बस्तीका रुपमा रहेको साँखु, बुङमती र खोकनाको मुख्य बस्ती र सोसँग जोडिएका क्षेत्रहरुको गुरुयोजना तयारी एवं विभिन्न योजनाहरुको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ । सो परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा निजी क्षेत्रमार्फत लगानी परिचालन गरिने भएको छ ।यस्तै सियोल हाउजिङ एण्ड कम्युनिटी कर्पोरेसनले स्मार्ट सिटी विकासका सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणको स‌ंस्थागत क्षमता विकासमा सहयोग पुर्याउनेछ ।

समझदारीपत्रमा नेपालका तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई  आयोजना निर्देशक नवराज प्याकुरेल र कोरियको तर्फबाट कार्यकारी निर्देशक इन गो काङले हस्ताक्षर गरेका छन् । सियोल हाउजिङ एण्ड कम्युनिटी करपोरेसन सियोल महानगरपालिका अन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरहरुको विकास गर्न तथा आवासहरुको निर्माणका लागि स्थापना गरिएको निकाय हो ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले ग्लोबल इन्फ्रास्टकचर कोअपरेसन कन्फेरेन्समा नेपालको पुनर्निर्माणको भावी कार्ययोजना र अन्तराष्ट्रिय सहयोगको अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान कि मुनले शहरी क्षेत्रको विकास तथा पूर्वाधारहरु निर्माण गर्दा पर्यावरणीय संरक्षण र दिगो विकासका निम्ति सबै मुलुकहरुका बीच सहकार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x