दशैका लागि असोज १४ गते देखि नयाँ नोट साट्न सकिने
काठमाडौँ २२ भदौ । दशैका लागि आगामी असोज १४ गते देखि नयाँ नोट पाईने भएको छ । नेपाल राष्ट्र बैंकले तीन सरकारी बैंक सहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्ने सुविधा उपलब्ध गराउँने भएको छ ।
राष्ट्र बैंकले दशैका लागि ५, १०, २०, ५० र १०० का नयाँ नोट उपलब्ध गराउँने भएको छ । नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म मात्रै पाउँनेछन् । तर, राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन्।
यस पटकको दशैमा करिब ४० अर्ब रुपैयाँ नोट साटिने केन्द्रिय बैकको लक्ष्य रहेको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न राष्ट्र बैंकले ३ करोड ५० लाख देखि अधिकत्तम ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकको क्षेत्रीय कार्यालयहरू र कार्यलय अन्र्तगतका नोट कोष रहेका वाणिज्य बैंकहरुले पनि नोट वितरण गर्ने भएका छन् ।
साथै नेपाल बैंकको काठमाडौं केन्द्रिय कार्यलय न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर कार्यलयबाट नोट साट्न सकिनेछ । राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट नोट साट्न सकिनेछ भने कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार नोट साट्न सकिनेछ ।