साताको पाँचै कारोबार दिन सेयर बजारमा गिरावट, परिसूचक ११५७.८९ बिन्दुमा झर्यो
काठमाडौं, २६ भदौ । एक सातामा सेयर बजार परिसूचक ३३.१८ अंकले घटेको छ । गएको साताको अन्तिम दिन ११९१.०७ को बिन्दुमा रहेको परिसूचक यो साताको अन्तिम दिन आज ११५७.८९ को बिन्दुमा झरेर बन्द भएको छ ।
आज बजारमा ५.३३ अंकको गिरावट आएको छ । यो साताको पाँचै कारोबार दिन बजारमा गिरावट आयो । पछिल्लो डेढ वर्षयता बजारमा गिरावट आउने क्रम रोकिएको छैन । बजार घटेसँगै कारोबारमा पनि उत्साह छाउन सकेको छैन ।
सरकारले बजार सुधारको प्रयास स्वरुप विभिन्न नीतिगत व्यवस्थाहरु गरेपनि त्यसको प्रभाव न्यून छ । बजारमा आएको निरन्तरको गिरावटले लगानीकर्ताहरुलाई उत्साही बनाउन सकेको छैन । तीन वर्षअघि नेप्से सर्वाधिक उचाई १८८१ को बिन्दुमा थियो । तर अहिले ११ सय भन्दा तल झरेको छ । यो अवधिमा लगानीकर्ताहरुले धेरै रकम पनि गुमाइसकेका छन् । त्यसले लगानीकर्ताहरुको मनोवल गिरेको लगानीकर्ताहरु बताउछन् । बजार सुधारमा नियामक निकायको खासै ध्यान नदिएकाले तत्काल बजार बढ्ने कुनै छाँटकाँट नरहेको स्वयंम लगानीकर्ताहरु बताउछन् ।