मुलुकको स्तरउन्नतीका लागि पूर्वाधारमा बार्षिक ५ खर्ब लगानी गर्न आवश्यक
काठमाडौ २७ भदौ । अल्पविकसित मुलुकबाट विकाशील मुलुकमा स्तरउन्नतीका लागि नेपालले अगामी दशक करिब ५ खर्ब १५ अर्ब रुपैयाँ पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने एक अध्ययनले देखाएको छ । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको ‘नेपाल इन्फ्रास्ट्रक्चर सेक्टर एसेसमेन्ट’ प्रतिवेदनले यस्तो पूर्वाधार लगानी बढाउनु पर्ने देखाएको हो ।
नेपालको २०२२ मा अल्पविकसित मुलुकबाट विकासशील र २०३० मा मध्यमस्तरको आय हुने मुलुकमा स्तरोन्नती हुने लक्ष्य छ । उक्त लक्ष्यमा पुग्नका लागि नेपालले कूल गार्हस्थ उत्पादन (जिडिपी) को १०–१५ प्रतिशत पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने प्रतिवेदनले देखाएको छ । हाल मुलुकको जिडिपी ३४ खर्ब ६४ अर्ब रहेको छ । त्यसअनुसार साढे ३ देखि सवा ५ खर्ब रुपैयाँ वार्षिक रुपमा पूर्वाधारमा लगानी गर्नुपर्ने देखिएको हो ।
त्यसैगरी, नेपालको अनुमानित विद्युत् माग पूरा गर्न दुईदेखि चार गुणा लगानी बढाउनुपर्ने प्रतिवेदनमा छ । नेपालमा ऊर्जा क्षेत्रमा सार्वजनिक र निजी क्षेत्रको मिश्रित लगानी रहेको छ । यातायात पूर्वाधार विकास, समस्याग्रस्त आयोजनाका समस्या सम्बोधन तथा कनेक्टिभिटी र सुरक्षामा सुधारका लागि सार्वजनिक र निजी स्रोत परिचालन महत्वपूर्ण हुने प्रतिवेदनले औंल्याएको छ।