मेलम्ची खानेपानी आयोजनाका श्रमिक र स्थानीयबीच सहमती, आयोजना अगाडी बढ्ने
काठमाडौं ३० भदौ । मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट पीडित नेपाली श्रमिक स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनी बिच आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्ने सहमती भएको छ । योसँगै आयोजना अघि बढाउन बाटो खुलेको छ ।
खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेको नेतृत्वमा सबै सरोकारवाला पक्ष बिच भएको वार्तामा नेपाली श्रमिकहरुलाई दिईने राहत स्वरुपको रकममा अन्य कुनै शीर्षकको रकम छुटेको भए श्रमिकहरुले प्रमाण स्वरुप एकमुष्ट रुपमा प्राविधिक समितिमा निवेदन दिने सहमति भएको छ । समितिले छानविन गरी श्रमिकको श्रेणी अनुसार सिद्धान्त तय गरी मेलम्ची खानेपानी विकास समितिलाई सिफारिश सहित प्रतिवेदन दिने सहमति भएको छ। यो कार्य निवेदन दिएको दुई महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।
सहमती अनुसार नेपाली श्रमिकहरुलाई दिईने राहत स्वरुपको रकममा दाबी गरेका ८ सय २८ श्रमिक मध्येबाट छुटेका श्रमिकहरुले पाउनुपर्ने रकमको प्रमाण सहित प्राविधिक समितिमा एकमुष्ट निवेदन दिने सहमति भएको छ । यो निवेदन दिएको २ महिनाभित्र रकम उपलब्ध गराउन सरकारलाई सिफारिश गर्ने सम्झौता भएको छ ।