हिमाल आरोहणबाट २५ करोड राजस्व संकलन
युवराज पन्त
काठमाण्डौ, १९ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा हिमाल आरोहणबाट २५ करोड १८ लाख ५२ हजार तीन सय १० रुपैयाँ राजस्व संकलन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका अनुसार आरोहण अनुमति लिएका १ हजार ४ सय ९८ जनाबाट सो रकम संकलन गरिएको हो ।
विभागका अनुसार बसन्तकालिन सिजनमा १ सय ९ टिमको ८ सय २८ जना, गृस्म ऋतुमा १० टिमको १ सय ३ जना, शरदऋतुमा १ सय ६६ टिमको ५ सय ३५ जना र शिशिर ऋतुमा ७ टिमको ३२ जनाले अरोहण अनुमति लिएका छन् ।
हिमाल आरोहणबाट गतआर्थिक वर्षमा ६६ करोड ७६ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७२÷७३ मा ६० करोड ५० लाख ७० हजार ४ सय ८ रुपैयाँ राजस्व संकलन भएको थियो । नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित आठ हजार मिटर भन्दा अग्ला ९ वटा हिमाल छन् । जसको कारण विश्वभरका हजारौ आरोहीहरु आरोहणका लागि हरेक वर्ष नेपाल आउने गरेका छन् ।