शनिबार साढे दुई घण्टाका लागि व्यवसायिक उडान स्थगित
काठमाडौ २५ असोज । चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवधिमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको उडान प्रभावित हुने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलले भ्रमण अवधिका लागि नोटाम जारी समेत गरेको छ ।
बिमानस्थलले शनिबार २५ गते २.५५ देखि ५.२५ सम्म र २६ गते आईतबार ११.२० देखि १.५० सम्मका लागि नोटामा लागू हुने बताएको छ । उक्त समय अवधि उडान अवतरण समय र भैपरी व्यवस्थापनलाई समेत मध्यनजर गरी निर्धारण गरिएको बिमानस्थलले जानकारी दिएको छ । उक्त अवधिमा ८७ वटा उडान र अवतणहरु प्रभावित हुने बिमानस्थलले जानकारी दिएको छ । शनिबार चिनिया राष्ट्रपति सहितको टोली दुई वटा बोईङ ७४७—८०० काठमाडौ अवतरण गर्नेछन् ।
उक्त अवधिभर अन्तराष्ट्रिय उडानका लागि पार्किङ्ग सिमितताको कारण समेत उडान तालिका नोटाम अवधिको अघि र पछि व्यवस्थापन गरिएको छ । आन्तरिक उडानहरुको तालिका पनि नोटाम अवधि अघि र पछि व्यवस्थापन गरिएको बिमानस्थलले जानकारी दिएको छ । प्रभावित उडानहरुको व्यवस्थापनका लागि उक्त दिनहरुमा बिमानस्थल २४ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाईएको छ । संशोधित उडान तालिका र चेकिङ्ग समयको जानकारी सम्बन्धित बायुसेवा कम्पनीबाट पाउँन सकिनेछ । बिमानस्थलको वेवसाईटबाट पनि जानकारी पाउँन सकिनेछ ।