चीनसँगको समझदारी कार्यान्वयनमा नेपाल दृढताका साथ उभिनुपर्ने सुझाव
काठमाडौं, २७ असोज । चिनियाँ राष्ट्रपति सि चिनफिङको दुई दिने राजकिय नेपाल भ्रमणको क्रममा १८ समझदारी र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ। सि र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा भएको ति समझदारी कार्यान्वयनमा नेपाली पक्षले विशेष चासो दिनुपर्ने अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले बताएका छन् ।
दुई देशबीच रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, कर्णाली करिडोर, केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययन गर्ने लगायतका समझदारी भएको छ ।
राष्ट्रपति सिको उपस्थितीमा भएका समझदारीहरु कार्यान्वयनमा चिनियाँ पक्ष सधै सकारात्मक रहने भन्दै अन्तर्राष्ट्रिय मामिलाका जानकार डा.रुपक सापकोटाले नेपाल सरकारले विशेष चासो दिनुपर्ने बताए । ‘अन्य देशको उदाहरण हेर्यौ भनेपनि राष्ट्रपति सिको उपस्थितीमा भएका समझदारी कार्यान्वयनमा चिनियाँ पक्ष निकै गम्भिर देखिन्छ ।’ उनले भने, ‘अव नेपालको तर्फबाट हामी कति गम्भिर बन्छौ भन्ने कुरा महत्वपूर्ण पाटो हो । ’
समझदारी कार्यान्वयनमा नेपाली पक्ष दृढताका साथ उभिनुपर्नेमा उनको सुझाव छ । चीनले नेपाललाई समस्या रहित मात्र होइन समृद्ध छिमेकीको रुपमा हेर्न चाहेको भन्दै उनले यो अवसरको सदुपयोग गर्दै समृद्धिको मार्ग तय गर्नुपर्ने बताए ।