विश्व बैकको बैठक सकेर फर्किए अर्थमन्त्री, व्यापार सहजीकरणमा जोड
काठमाडौ ७ कात्तिक । अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको बोर्डस अफ गभर्नरहरूको वार्षिक बैठकमा सहभागी भई स्वदेश फर्किएका छन् । बैठकमा विश्व व्यापार तथा लगानीमा देखिएको घट्दो क्रम, खास गरी व्यापारमा संरक्षणवाद तथा भू–राजनीतिक तनावहरू, ब्रेक्जिट, कमजोर बजार संवेदनशिलताहरू र जलवायु परिवर्तन जस्ता कारणहरूबाट विश्वमा देखिएको चिन्ता एवम् अनिश्चितताको विषयमा छलफल भएको थियो ।
विश्व वैंक–मुद्रा कोष बैठकको अवसरमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक बैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा. खतिवडाले सार्कको भावी आर्थिक एकीकरणको कार्यदिशा व्यापार सहजीकरण नै भएको स्पष्ट पारे । साथै यस क्षेत्रको निरन्तर आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरूरी रहेको र यसका लागि अन्तरदेशीय सडक, रेललगायत हवाई सञ्जालको पर्याप्त विकास हुनु पर्नेमा जोड् दिएका थिए । यस क्षेत्रमा भौतिक पूर्वाधारको पर्याप्त विकास नहुनु पनि व्यापार सहजीकरणको लागि बाधक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले विश्व बैंक एडिबी जस्ता अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोगबाट अन्तरदेशीय सडक सञ्जालको विकासका लागि पूर्वाधारहरुको विकास गर्न मद्दत पुग्ने बताएका थिए ।
दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने, जसले आर्थिक वृद्धिमा परिपुरक भूमिका खेल्ने बताएका थिए । साथै यस क्षेत्रको व्यापार सहजीकरणका लागि भुक्तानी सहजीकरण पनि अत्यावश्यक रहेको उनले धारणा राखेको थिए ।
अर्थमन्त्री डा. खतिवडाले विश्व बैंक र मुद्रा कोषको सदस्य रहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुको समूहको बैठकमा भाग लिनु भई त्यस क्षेत्रको आर्थिक क्षेत्रमा देखिएको शिथिलता, बढ्दो ऋण र त्यसको पारदर्शिता तथा डिजिटल अर्थतन्त्रले ल्याउन सक्ने नियामक चुनौती जस्ता विषयको छलफलमा भाग लिएका थिए ।
भ्रमणकै अवधिमा अर्थमन्त्रीसंग अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष समेतका उच्च पदाधिकारीहरुको बैठक भएको थियो । सो बैठकमा नेपालमा पर्यटन, सहरी पुर्वाधार विकास, माथिल्लो त्रिशुली १, माथिल्लो अरुण, कावेली लगायतका परियोजनाहरुमा लगानीको संभावनाबारे चर्चा गर्दै केही स्टार्ट अप बिजनेशमा ईक्वीटीमा सहभागिता, वित्तिय संस्थाहरुमा ऋण प्रवाह गर्ने विषय तथा स्थानिय मुद्रामा वण्ड जारी गर्ने विषयमा छलफल भएको थियो । अन्तर्राष्ट्रिय वित्त निगमलाई नेपालमा निजी क्षेत्र मार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पुर्वाधारलगायतका क्षेत्रमा समेत लगानी गर्न आग्रह गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका थिए । उनले निजी क्षेत्रलाई थप सवल, सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको तथा पूर्जीबजारका उपकरणहरुको विविधिकरण गर्नुपर्ने विषयमा जोड दिएका थिए ।