Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सामाजिक सुरक्षा कोषले १ करोडसम्म घरजग्गा कर्जा, ३५ लाख शैक्षिक र २५ लाखसम्म सामाजिक कर्जा दिने

सामाजिक सुरक्षा कोषले १ करोडसम्म घरजग्गा कर्जा, ३५ लाख शैक्षिक र २५ लाखसम्म सामाजिक कर्जा दिने

बलराम बुढाथोकी
काठमाडौं, १८ कात्तिक । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई १ करोड रुपैयाँसम्मको घरजग्गा कर्जा प्रदान गर्ने भएको छ । कोषले लगानी निर्देशिका निर्माण गर्दै योगदानकर्तालाई तीन प्रकारका कर्जा प्रदान गर्ने व्यवस्था गर्न लागेको हो । निर्देशिका अनुसार कोषले शैक्षिक कर्जा, घरजग्गा कर्जा र सामाजिक कर्जा प्रदान गर्ने भएको हो ।

कोषले धितोको अधिकत्तम ७० प्रतिशतसम्म कर्जा दिने भएको छ । कर्जा लिनका लागि योगदानकर्ताले लगातार तीन बर्षसम्म योगदान भुक्तानी गरेको हुनुपर्नेछ । कोषले ५, १० र १५ बर्षसम्मको कर्जा दिनेछ । बजारको मागको आधारमा ब्याजदर निर्धारण गरिने कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए । योगदानकर्ताले घर वा जग्गा खरिद गर्नका लागि घरजग्गा खरिद कर्जा लिन सक्नेछन् । त्यस्तै, सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई अधिकत्तम ३५ लाख रुपैयाँसम्म शैक्षिक कर्जा उपलब्ध गराउँने भएको छ । योगदानकर्ताले स्वअध्ययन तथा छोराछोरीको अध्ययनका लागि उक्त कर्जा लिन सक्नेछन् । त्यस्तै स्वदेशमा गरिने वा विदेशमा गरिने अध्ययनका लागि पनि यस्तो खालको कर्जा लिन सकिनेछ ।

कोषले २५ लाख रुपैयाँसम्म सामाजिक कर्जा प्रदान गर्ने भएको छ । योगदानकर्ताले कुनै पनि सामाजिक कार्यका लागि यस्तो खालको कर्जा लिन सक्नेछन् । यस्तो खालको कर्जाको लागि पनि धितो भने राख्नुपर्नेछ । यस्तो कर्जामा जोखिम हुने भएकोले कर्जाको सिमा कम राखिएको कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताए । कोषले बेरोजगार सुरक्षा योजना पनि सञ्चालन गर्ने भएको छ । ६० बर्ष नपुगेका योगदानकर्तालाई राहत प्रदान गर्न कोषले यस्तो खालको योजना सञ्चालन गर्ने भएको हो । यस योजना अनुसार निश्चित अवधि योगदान रकम भुक्तानी गरेका तर, ६० बर्ष नपुगेका योगदानकर्तालाई मासिक रुपमा निश्चित रकम भुक्तानी गरिनेछ ।

साथै कोषले विभिन्न क्षेत्रमा लगानी गरी नाफा आर्जन गर्ने भएको छ । सरकारी डिवेन्चर, बन्ड, सामूहिक लगानी कोष, मल, शेयरमा समेत लगानी गर्नेछ । हरेक क्षेत्रमा कुल लगानीको २० प्रतिशत भन्दा बढी लगानी गर्न पाउँने छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x