लिपुलेक, लिम्पियाधुराबारे भारतसँग सचिवस्तरीय बैठक
काठमाडौं, २५ कार्तिक । भारतले अघिल्लो साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिपुलेक, लिम्यिपाधुरा क्षेत्रलाई समेत आफ्नो भूभाग दाबी गरेपछि नेपालले वार्ता गरी नक्सा सच्याउन आग्रह गर्ने भएको हो ।
यसका लागि दुवै मुलुकका परराष्ट्र सचिव स्तरीय वार्ता हुने भएको छ । परराष्ट्र सचिव शंकर बैरागीका अनुसार केही साताभित्रै बैठक गर्ने गृहकार्य थालिएको छ । उनले वार्ताको मिति छिट्टै टुंगो लाग्ने बताए । नेपाली भूभाग कालापानीमा आएर भारतीय सेनाले क्याम्प खडा गरेर बसेको झण्ठै पाँच दशक बितिसकेको छ । सेना हटाउन नेपालले निरन्तर पहल गर्दागर्दै भारतले नयाँ नक्सामा उक्त भूभाग आफ्नो सीमाभित्र पारेपछि विवाद उत्पन्न भएको हो ।
यो घटनाले दुवै देशमा राजनीतिक तनाव चुलिएको छ । नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविश कुमारले भारतको नयाँ राजनीतिक नक्सामा कुनै मुलुकको भूभाग अतिक्रमण नगरेको बताएका छन् । नयाँ नक्साका कारण नेपालमा राजनीतिक तनाव उत्पन्न भएको छ । यसको विरोधमा दिनहँ प्रदर्शन र नाराबाजी भइरहेका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर महाकाली नदीको उद्गमदेखि नदि पारीको भूभाग भारतको र वारीको नेपालको रहेको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ आयोजना गरेको सर्वपक्षीय बैठकमा सबै नेताहरुले उक्त भूभाग नेपालको रहेकाले नक्सा सच्याउन भारतसँग राजनीतिक र कुटनीतिक तहमा वार्ता गर्न सुझाव दिएका थिए ।
बंगलादेशका राष्ट्रपतिको आसन्न भ्रमणपछि भारतीय पक्षसँगको छलफलले गति लिने र मिति पनि तय हुने परराष्ट्र मन्त्रालय स्रोतको भनाई छ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद तीनदिने भ्रमणका लागि मंगलबार काठमाडौं ओर्लंदै छन् । मन्त्रालय स्रोतका अनुसार बैठकका लागि भारतीय पक्ष पनि सकारात्मक रहेको बताइएको छ । ।गत शुक्रबार नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय विदेश सचिव विजयशेखर गोखलेबीच भएको भेटमा पनि लिपुलेक, लिम्पियाधुरा सीमा विवादका बारे छलफल भएको थियो ।
गत २ नोभेम्बरमा भारतले उत्तर जम्मु–कश्मीरलाई केन्द्रशासित दुई राज्यमा विभाजन गरेपछि भारतले नयाँ नक्सा जारी गरेको थियो ।