सहुलियतपूर्ण कर्जा प्रवाह गर्न युवा परिषद् र ३ सरकारी बैंकबीच सम्झौता
काठमाडौं, ११ मंसिर । सरकारले सञ्चालनमा ल्याएको शिक्षित तथा सीप भएका युवालाई प्रवाह गर्ने सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई कार्यान्वयन गर्न राष्ट्रिय युवा परिषद् र सरकारी स्वामित्वका ३ वाणिज्य बैंकबीच सम्झौता भएको छ । शिक्षित युवा र वैदेशिक रोजगारबाट सीप सिकेर फर्किएका युवालाई उद्यमशील बनाउनको लागि राष्ट्रिय युवा परिषद्, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकबीच सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नेपाल बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले यो सम्झौताले युवालाई व्यवसायतर्फ आर्षण गर्न बताए । त्यस्तै मन्त्री खतिवडाले युवाले आर्जन गरेको ज्ञानलाई सीपमा रुपान्तरण गर्न आवश्यक रहेको बताए । त्यसको लागि सरकारले माध्यामिक शिक्षाबाट नै व्यावसायिक शिक्षामा जोड दिन बढी मात्रामा खर्च गरेको उनले जानकारी दिए । अबको विश्व व्यवसायिक रुपमा अगाडि बढेको र त्यसमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गनु सरकारको अबको लक्ष्य हुनुपर्ने मन्त्री खतिवडाको भनाई छ ।
सम्झौता अनुसार सहुलियतपूर्ण कर्जाका लागि राष्ट्रिय युवा परिषद्को संयोजनमा बैंकहरुको सहकार्य र साझेदारीमा देशव्यापी रुपमा युवाहरुलाई एक दिने परामर्श र सात दिने उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम दिईनेछ । बैंकबाट सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा यसरी तालिम लिएका युवालाई प्राथमिकतता दिइने र त्यो विवरण बैंकले युवा परिषद्लाई उपलब्ध गराउने जनाईएको छ ।
त्यस्तै यो सम्झौताले अर्थमन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (दोस्रो संशोधन) कार्यविधि, २०७६ बमोजिम लक्षित वर्गमा कर्जा प्रवाह भई प्रभावकारी कार्यान्वयन हुने आशा गरिएको छ ।