गत वर्षकै उखुको मूल्य सिफारिस
काठमाडौं, ९ पुस । उखु किसान र चिनी मिलहरुसँगको छलफलपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वर्षकै सरह मूल्य निर्धारण गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । यो वर्ष पनि गत वर्षकै मूल्य अनुसार प्रतिक्विन्टल ५३६ रूपैयाँ ५६ पैसा मूल्य सिफारिश गरिएको हो । यो मूल्य सरकारले दिने अनुदान सहित हो । सरकारले प्रतिक्विन्टल उखुमा दिने ६५ रूपैयाँ २८ पैसा अनुदान दिदैं आएको छ ।
किसानहरुले भने यो वर्ष अनुदान सहित सहित ६०७ रूपैयाँ ५६ पैसा मूल्य निर्धारण गर्न माग गर्दै आएका थिए । तर गत वर्षकै मूल्य कायम हुने भएकाले चिनी उद्योगीलाई सरकारले राहत दिएको छ ।
यो वर्ष पनि उखुको क्रसिङ सिजन शुरु भैसकेको छ । मूल्य निर्धारणमा ढिलाई हुँदा किसानहरु अन्यौलमा थिए । चिनी मिलले विगतदेखि नै किसानलाई भुक्तानी दिन ढिलाई गर्दै आएका छन् । सरकारले किसानको भुक्तानी बाँकी नराख्न चिनी मिलहरुलाई चेतावनी दिएपनि एक दर्जन चिनी मिलले गत वर्षसम्मको डेढ अर्ब रूपैयाँ उखुको भुक्तानी दिन बाँकी छ । त्यस्तै, सरकारले अनुदान स्वरूप उपलब्ध गराउने भनेको एक अर्ब ३१ करोड रूपैयाँ किसानसम्म पुग्न सकेको छैन ।
कृषि विकास मन्त्रालयका अनुसार एक विगाहा क्षेत्रफलबाट औषत साढे ४९ टन उखुको खेती हुन्छ । एक विगाहामा उखु उत्पादन गर्न कम्तिमा साढे एक लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अध्ययनले देखाएको छ । उखु खेती हुने १८ जिल्लामा ५ लाख ५० हजार किसान उखु खेतीमा संलग्न छन् ।
सरकारले चिनीमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गरेपनि सरकारका सहुलियतका कार्यक्रम किसानसम्म नपुगेसम्म यसको अर्थ नहुने उखु किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।