
काठमाडौं, ११ पुस । रसुवागढी जोड्ने टोखाछहरे सुरुङमार्गको अध्ययन सुरु भएको छ । नेपाल चीन बिच भएको सम्झौता अनुसार सुरुङमार्ग सर्भेका लागि नौ जना चिनियाँ प्राविधिक नेपाल आएका छन्। चिनियाँ प्राविधिकहरू शुक्रबार विहानै फिल्ड सर्भेका लागि टोखा पुगेको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । नेपाली र चिनियाँ इन्जिनीयरले सयुक्त रूपमा आगामी एक महिनामा फिल्ड सर्भे गर्नेछन्।
टोखा छहरे सुरुङमार्ग करिब ४ किमी लम्बाइ हुनेछ। सुरुङमार्ग टोखाबाट नुवाकोटको थानसिङ फाँट निस्कने छ। त्यहाँबाट वेत्रावतीसम्म पुग्न करिब ३४ किमि सडक निर्माण गर्ने योजना समेत बनाइएको छ। सडक र सुरुङमार्ग निर्माण गर्न सके रसुवागढी सबैभन्दा छोटो दुरीमा पुग्न सकिन्छ। वेत्रावतीबाट रसुवागढीसम्म एसियन स्ट्याण्डर्डको डबल लेन सडक निर्माण भइरहेको छ। चिनियाँ अनुदान सहयोग र नेपालको आफ्नै लगानी दुवै सडक बनिरहेको छ।
इन्जिनीयरले साइट हेर्ने र नापजाँच लगायतका कामहरू गर्नेछन्। त्यसपछि चीनमा नै गएर रिपोर्ट तयार पार्नेछन्। मार्च अन्तिम सातासम्ममा चीन सरकारलाई उनीहरूले रिपोर्ट बुझाउनेछन्। त्यसपछि चीनले औपचारिक रूपमा नेपाललाई उक्त रिपोर्ट दिनेछ। चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीका प्रमुखसहित जियोलोजी, टनेल र हाइवे इन्जिनियरलगायत टोलीमा छन्। यो आर्थिक वर्षमा सुरुङमार्गको सर्भे रिपोर्ट तयार पार्ने लक्ष्य लिइएको छ।
Leave a Reply