माघेसंक्रान्तिमा नुवाकोटको तारुकामा १८ हल गोरु जुघाइने
काठमाडौं, ३० पुस । माघेसंक्रान्तिको दिन नुवाकोटको तारुकामा यसपटक १८ हल गोरु जुघाइने भएको छ । माघेसक्रान्ति मेला व्यवस्थापन समितिका अनुसार आज सम्म १८ हल गोरु जुघाउनका लागि दर्ता गरिएको छ ।
स्थानीयका अनुसार बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ नुवाकोटको तारुका भएको र उनी मामाघर गएको बेला मनोरञ्जनका लागि पहिलो पटक गोरु जुघाईएको थियो । तर त्यसले अहिले सम्म निरन्तता पाउदा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठुलो सघाउ पुर्याउदै आएको छ । समितिका अनुसार विगतमा वार्षिकहरुमा दश हजार भन्दा बढी स्वदेशी तथा विदेशीले गोरु जुघाई मेलाको अवलोकन गर्ने गरेको र यस वर्षपनि सोही अनुपातमा अवलोकनकर्ताहरु आउने अपेक्षा गरिएको छ।
विगतमा कोडाँडा, चन्दनी, ठूलोपोखरीलगायत विभिन्न ठाउँमा छरपस्ट रुपमा मेला आयोजना गरिनन्थो । तर विगत केही वर्षयता दर्शकहरुको सहजताका लागि तारुका–२, (साविकको तारुका ३) चन्दनी कटहरबोटको पाटोमा हुनेगर्छ । प्रतियोगितामा दर्जनौं गोरुपालक किसानले चामल, अन्डा, मकैलगायत पोषिलो खानेकुरा खुवाएर पालिएका रहरलाग्दा बहर गोरुहरुलाई सहभागि गराउछन् ।