गोमती बिरुद्ध ५२ करोडको राजस्व छलिको अभियोगमा मुद्धा दायर

काठमाडौं, १४ पुस । राजस्व अनुसन्धान विभागले सिराहा स्थित गोमति गुट्खा उद्योगलाई राजस्व चुहावट गरेको अभियोगमा ५२ करोडको मुद्दा दायर गरेको छ । विभागले आइतबार ५१ करोड ९३ लाख बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको माग दाबी गर्दै मुद्दा दायर गरेको हो।

उद्योगका संचालक मोहन महतो, सुपरभाइजर राजाराम चौधरी र उद्धवकुमार महतोविरुद्ध विभागले सिराहा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। राजस्व छली गर्ने उद्देश्यले अन्तःशुल्क स्टिकर नटाँसी उद्योगले गुट्खा बिक्री गरेको विभागले दायर गरेको जनाएको छ ।

त्यस्तै विभागले जेबि सोलुशनलाई झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरेको अभियोगमा पौने ४ करोडको मुद्दा दायर गरेको छ। सोलुशनका संचालकद्वय जनार्दन भण्डारी र फिरोज मास्केसहित ५ जनालाई राजस्व चुहावट गरेको अभियोगमा ३ करोड ७१ लाख ४६ हजार ९ सय ५ रुपैयाँ बिगो कायम गरी विभागले मुद्दा दायर गरेको हो। विभागले बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षको कैद माग गर्दै काठमाडौं जिल्ला अदालतमा पुस ९ गते मुद्दा दायर गरेको जानकारी दिएको हो। यसैगरी विभागले सिआर ट्रेडिङका विरुद्ध मासुजन्य पदार्थका सामानमा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा १ करोडको मुद्दा दायर गरेको छ। प्रोप्राइटर रिंकी चौधरी शाहको नाममा दर्ता भएको फर्ममा मुख्य कारोबार गर्ने दिनेश रायसहित ७ जनालाई १ करोड ५ लाख रुपैयाँ बिगो कायम गरी विभागले मुद्दा दायर गरेको हो। यसैगरी विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मकी प्रोप्राइटर रिंकी चौधरी र मुख्य कारोबारी दिनेश रायलाई ६३ लाख ८५ हजार बिगो कायमको माग दाबी गर्दै विभागले काठमाडौं जिल्ला अदालतमा पुस ११ गते मुद्दा दायर गरेको हो।

दिप ज्योति ग्रुप एण्ड फुड प्रोडक्ट्स कम्पनी प्रालिविरुद्ध फ्रेन्च फ्राइजका सामानमा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा विभागले पौने ३२ लाखको मुद्दा दायर गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *