नेपाल बैंकको १५ प्रतिशत बोनश सेयर र १० प्रतिशत नगद लाभांश पारित
काठमाडौं, २५ पुस । नेपाल बैंकले यो वर्ष सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको काठमाडौंमा आज सम्पन्न ६० औं वार्षिक साधारणसभाले नगद र बोनस सेयर गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै सभाले बोनश सेयर वितरणपश्चात् चुक्ता पूँजीमा वृद्धि गरी ११ अर्व २८ करोड २८ लाख रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा बैंकको कुल निक्षेप एक खर्व १६ अर्व ८० करोड रुपैयाँ र लगानी १६ अर्व २५ करोड रहेको छ भने बैंकले उक्त अवधिमा ५८ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
हाल बैंकले एक सय ७५ वटा शाखा कार्यालयमार्फत् सेवा दिँदै आएको छ ।