६ महिनामा ११० फर्मलाई विभागको कारवाही
काठमाडौ, ७ माघ । चालु आर्थिक बर्ष २०७६/७७ को पुस महिनासम्ममा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन सय १० वटा व्यवसायिक फर्मलाई कारवाही गरेको छ । अनुगमन गरिएका ९ सय ३९ फर्ममध्ये ऐन विपरित काम गर्ने फर्मलाई कारवाही गरिएको हो । एक सय ३३ वटा व्यावसायिक फर्मलाई स्पष्टिकरण सोधेको छ । साथै उपभोक्ता हित विपरीत व्यवसाय गर्ने ४७ वटा व्यवसायको कारोबार नै रोक्का गरेको छ । दुई वटालाई मुद्धा दायर गर्ने निर्णयका लागि पठाइएको र १८ वटा नमूना परीक्षणका लागि पठाइएको छ ।
विभागले केवल बिक्री थापाथलीस्थित पायोनियर इलेक्ट्रो केवल प्रालिलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै हात्तीवनस्थित स्काइ मार्ट सपिङ्ग सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बालाजुस्थित अक्वा मिनरल प्रालिलाई एक लाख जरिवाना गरिएको छ । यस्तै हिमाल मिनरल वाटरलाई ५० हजार जरिवाना गरिएको छ । मुल्य सूची नराख्ने, ड्रिङकिङ्ग वाटर चन्द्रागिरि, फ्रेण्डसिप ड्रिङकिङ्ग वाटर र गुड्स स्टोरलाई ५० हजार जरिवाना गरिएको विभागले जानकारी दिएको छ । यस्तै व्यवसाय दर्ता प्रमाणपत्र नभएको फेला परेपछि छिमेकी सपिङ सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएकोे छ । यस्तै नेपाल फुड्स प्रोडक्स र माइ मार्ट इन्ड्रष्टिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागले खाद्यान्न स्टोर, सपिङ्ग सेन्टर, प्रशोधित पानी उद्योगलगायतका फर्ममा अनुमगन गरेको थियो । उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कसुर अनुसार पाँच हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा मूल्य सूची नराखेको, कम तौलको सामान बिक्री गरेको, पानीमा फयाक्ट्री मुल्य नराखेको, म्याद नाघेका सामान बिक्री गर्ने व्यवसायीलाई कारबाही गरिएको विभागले जनाएको छ ।
विभागले ६ महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गरेर ६६ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा बजार अनुगमनका नाममा २० लाख रुपैयाँ खर्च भएको विभागले जानकारी दिएको छ । विभागले नियमित रुपमा बजार अनुगमन गरेपनि बजारमा हुने गलत क्रियाकलाप भने नियन्त्रण हुन सकेको छैन ।