घटेको बजारमा कारोबार रकम भने बढ्यो
काठमाडौं, १ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक घटेर बन्द बएको छ । घटेर बन्द भएको बजारमा आज कारोबार रकममा भने सुधार देखिएको छ । आज १ अर्ब ७७ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार १ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
नेप्से परिसूचक १.३९ अंकले घटेर १३४४.५९ विन्दुमा रोकिएको छ । हिजोको तुलनामा ०.१० प्रतिशतले परिसूचकमा कमी आएको हो । आज १ सय ७२ कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता सेयर खरिद विक्री भएको छ ।
बढी सेयर कारोबार हिमालयन डिष्टिलरीको
आज सबैभन्दा बढी सेयर कारोबार हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यो कम्पनीको १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै शिवम् सिमेन्टको ९ करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको ६ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचकमा कमी आएको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । आज परिसूचकमा सर्वाधिक कमी आउँनेमा होटेल समूह रहेको छ । यो समूहको १.६१ प्रतिशतले परिसूचकमा कमी आएको छ । त्यस्तै सर्वाधिक परिसूचक बढ्नेमा उद्योग समूह रहेको छ । यो समूहको २.९६ प्रतिशले परिसूचकमा वृद्धि भएको छ ।