राष्ट्रिय गौरवका आयोजनाको प्रगति कमजोर, विनियोजनको १९ प्रतिशत खर्च
काठमाडौं, २ फागुन । राष्ट्रिय गौरवका आयोजनाको प्रगति कमजोर देखिएको छ । सरकारले चालु आवको मध्यावधि समीक्षाका क्रममा राष्ट्रिय गौरवका २३ आयोजनाका लागि एक खर्ब २ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा १८.७ प्रतिशतमात्र खर्च भएको छ । अमेरिकी अनुदान सहयोग निकाय, एमसीसीको अनुदानमा कार्यान्वयन हुने विद्युत् प्रसारण आयोजना समेत गरी २३ राष्ट्रिय गौरवका आयोजनामध्ये बढी प्रगति हासिल गर्नेमा गौतम बुद्ध विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची, मध्यपहाडी लोकमार्ग लगायत रहेका छन् । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी असारसम्म काठमाडौंमा ल्याउने भन्दै श्वेतपत्र जारी गरेकी छिन् । यद्यपि यो उनको तेश्रो प्रतिवद्धता हो ।
एमसीसी अन्तर्गतको प्रसारणलाइन तथा सडक स्तरोन्नति आयोजना कार्यान्वयनमा छुट्याएको १० अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । त्यस्तै, निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न गर्ने अवधि संशोधन गरेर आव २०९१–९२ बनाइएको छ । अन्य राष्ट्रिय गौरवका आयोजनाको प्रगति पनि कमजोर देखिन्छ । राष्ट्रिय योजना आयोगले भने अहिले निर्माणका क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनालाई दीर्घकालीन योजना अवधि २०८०–८१ सम्म सम्पन्न गर्ने आवधिक योजनामै उल्लेख गरेको छ ।