वुहानबाट १७५ नेपालीको उद्दार
काठमाडौं, ४ फागुन । नोभेल कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट १७५ नेपालीहरुको उद्दार गरी काठमाडौं ल्याइएको छ । वुहानको स्थानीय समय अनुसार १२ बजेर ५२ मिनेटमा नेपालीहरुलाई लिएर उडेको नेपाल एयरलाइन्सको विमान विहान ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । चीनबाट फर्कनेहरुमा १७० विद्यार्थी छन् । १ जना चीनमा काम गरिरहेका हुन् भने दुई जना घुम्न चीन गएका हुन् । दुई जना बालबालिका पनि छन् । हुपेइ प्रान्तमा रहेका नेपालीहरुलाई फर्काउन चीनस्थित नेपाली दूतावासले ६ ओटा सवारीसाधनको बन्दोबस्त गरेको थियो । वुहानमा ५५, इन्सीमा २६, सियानमा २९, यिछाङमा ८, चिङमेनमा ९ र चिंंझाउमा ४८ नेपाली थिए ।
यिनीहरुमध्ये १३४ पुरुष र ४१ म्हिला हुन् । क्वारेन्टाइन प्रक्रिया र शरिरको तापक्रम लिएर उनीहरुलाई विमानमा राखिएको थियो । नेपालमा उनीहरु १४ दिन क्वारेन्टाइन निगरानीमा रहनेछन् । यसका लागि नेपाल विद्युत् प्राधिकरणको खरिपाटीमा अस्थायी आवासको प्रबन्ध मिलाइएको छ । चीनबाट नेपाल फर्कन १८५ जनाले आवेदन दिएका थिए । ४ जनाले पछि चीनमा नै बस्ने निधो गरे भने ६ जना स्वास्थ्य जाँचका क्रममा तापक्रम उच्च देखिएपछि फर्कन पाएनन् । उनीहरुलाई थप उपचारपछिमात्र नेपाल ल्याइनेछ ।