नेप्से परिसूचक १९.३९ अंकले वृद्धि भएसँगै कारोबार २ अर्ब नजिक
काठमाडौं, ४ फागुन । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । गत साताको अन्तिम दिन घटेर बन्द भएको सेयर बजार आज १९.३९ अंकले वृद्धि भई १३६३.९७ विन्दुमा रोकिएको छ । आज १ अर्ब ९७ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।
१ सय ७६ कम्पनीको ४१ लाख ५ हजार १ सय ३४ कित्ता सेयर खरिद विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार हुनेमा हिमालयन डिस्टिलरी लिमिटेड रहेको छ । उक्त कम्पनीको १८ करोड ४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै शिवम् सिमेन्टको १३ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै आज कारोबारमा आएका १२ समूहमध्ये ३ वटा समूहको परिसूचकमा कमी आएको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । परिसूचकमा कमी आउँने समूहमा फाइनान्स, अन्य र म्युचुअल फण्ड रहेका छन् । आज सर्वाधिक परिसूचक वृद्धि हुनेमा निर्जीवन बीमा र जीवन बीमा समूह रहेका छन् ।
निर्जीवन बीमा समूहको ६.७२ प्रतिशतले परिसूचकमा वृद्धि भएको छ भने जीवन बीमा समूहको ५.२२ प्रतिशतले परिसूचकमा वृद्धि भएको छ । परिसूचकमा कमी आउँनेमा फाईनान्स समूह ०.५ प्रतिशत, अन्य समूह ०.३८ प्रतिशत र म्युचुअल फण्ड समूह ०.६४ प्रतिशत रहेका छन् ।