एडीबीबाट सरकारले लियो ३२ करोड डलर शोधभर्ना
काठमाडौं, ६ फागुन । एसियाली विकास बैंक (एडीबी) को सहयोगका विकास परियोजना कार्यान्वयनबाट सरकारले अहिलेसम्मकै बढी शोधभर्ना सरकारले प्राप्त गरेको छ । एडीबीले सन् २०१९ मा अहिलेसम्मकै उच्च ३२ करोड ३७ लाख अमेरिकी डलर शोधभर्ना सरकारलाई भुक्तानी गरेको जनाएको छ । सबैभन्दा बढी शोधभर्ना भएका परियोजनाहरुमा
भूकम्प आपत्कालीन सहयोग परियोजनामा ३ करोड ८५ लाख अमेरिकी डलर, सासेक उर्जा प्रणाली विस्तार परियोजनामा २ करोड ८७ लाख डलर, खाद्य सुरक्षा तथा कृषि व्यावसायिकरण परियोजनामा २ करोड ५० लाख डलर शोधभर्ना सरकारले एडीबीसँग लिएको हो । त्यस्तै क्षेत्रीय सहरी विकास परियोजनामा २ करोड २१ लख डलर, ग्रामीाण सम्पर्क सञ्जाल सुधार परियोजनामा २ करोड २ लाख डलर र विद्यालय क्षेत्र विकास सहयोग कार्यक्रमबाट २ करोड डलर शोधभर्ना सरकारले प्राप्त गरेको हो।
एडीबी सहयोगका कार्यक्रमहरुको वार्षिक समीक्षामा एडीबीका राष्ट्रिय निर्देशक मुख्तर खामुदखानोभले शोधभर्नामा सुधार आएको र परियोजना विगतमा रहेका चुनौती यथास्थितिमै रहे पनि एडीबी सहयोगका परियोजनाहरुको समग्र कार्यसम्पादन राम्रो देखिएको बताए ।
एडीबीले नेपाललाई दिदैं आएको वार्षिक सहायता रकम वृद्धि गरेकाले उक्त सहयोग उपयोग गर्न परियोजना कार्यान्वयनमा तीव्रता ल्याउनुपर्ने उनको भनाई थियोे । ‘सहायता वृद्धि र परियोजना कार्यान्वयनमा तीव्रता आपसमा मेल खाएको खण्डमा त्यो परिणाममुखी हुन्छ,’ उनले भने । खामुदखानोभले नेपालको जटिल भूबनोट, परियोजना स्थलको दुर्गमता, विकासका काम गर्दा अपनाउनुपर्ने अन्य सुरक्षाका मुद्दाहरु र नेपालको संघीयता कार्यान्वयनतर्फको संक्रमण विकास परियोजना कार्यान्वयनका चुनौतीमा रुपमा देखिएको टिप्पणी गरे । सरकारले जोखिम र अवरोधहरु हटाउन लगातार पहल गरिरहेको भन्दै उनले त्रिपक्षीय पोर्टफोलियो समीक्षा बैठकमा सम्बन्धित निकायहरु, मन्त्रालयहरुसँग छलफलले धेरै विषयहरु समाधान गरेको उनको भनाइ थियो ।
पोर्टफोलियो समीक्षा बैठकसँगै आयोजित विशेष समारोहमा अर्थ सचिव शिशिर कुमार ढुंगानाले राम्रो कार्यसम्पादन गर्ने परियोजनाहरुलाई सम्मान गरेका थिए ।
सम्मानित हुनेहरुमा तेश्रो साना सहरी स्वच्छ पानी आपूर्ति तथा सरसफाइ क्षेत्र परियोजना र समुदाय प्रबन्धित सिञ्चित कृषि क्षेत्र उत्कृष्ट परियोजनाका रुपमा सम्मानित भएका छन् । सहरी स्वच्छ पानी तथा सरसफाई क्षेत्र परियोजनाले खरिद व्यवस्थापनमा उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । सासेक उर्जा क्षेत्र विस्तार परियोजनाले वातावरणीय र सामाजिक सुरक्षा अनुगमनमा उत्कृष्ट टिमको सम्मान पाएको छ । तेश्रो साना सहरी स्वच्छ पानी आपूर्ति तथा सरसफाइ क्षेत्र परियोजनाले अतिरिक्त सम्मान समेत प्राप्त गरेको छ । यो परियोजनाले लैंगिक समानता र सामाजिक समावेशीताको सम्मान थप प्राप्त गरेको हो । सासेक सडक सञ्जाल परियोजनाले वित्तिय व्यवस्थापन र भुक्तानी सम्मान पाएको छ ।
सन् १९६९ देखि एडीबीले नेपालको विकासमा सहयोग प्रदान गर्न थालेको हो । अहिलेसम्म एडीबीले नेपालमा ६ अर्ब डलर बराबरको वित्तिय र प्राविधिक सहायता दिएको छ । एडीबी सहयोगका परियोजना उर्जा, यातायात, सहरी विकास, स्वच्छ पानी आपूर्ति र सरसफाइ, कृषि र सिंचाइ, शिक्षा लगायत क्षेत्रमा केन्द्रीत छन् । एडीबीले समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया तथा प्रशान्त क्षेत्रको विकासका लागि प्रगति तथा यसक्षेत्रको चरम गरिबी निवारणका लागि प्रतिवद्ध रहेको जनाएको छ । सन् १९६६ मा जापानको अगुवाइमा स्थापना भएको एडीबीमा ६८ सदस्य छन् । जसमध्ये ४९ एसिया–प्रशान्त क्षेत्रका हुन् ।