भ्रमण वर्षसम्बन्धि सबै बाह्य कार्यक्रम स्थगित
काठमाडौं, १८ फागुन । संस्कृृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भ्रमण वर्ष, २०२० सम्बन्धि सबै अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित गर्ने घोषणा गरेको छ । पर्यटन मन्त्री योगेश भट्टराईले विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रकोप बढदै गएकाले बाह्य कार्यक्रमहरु स्थगित गरिएको बताए । यसको सट्टा आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने सरकारले उल्लेख गरेको छ ।
चीनमा कोरोना भाइरसको प्रकोपसँगै हिमालय एयरलाइन्सले चीनतर्फको उडान बन्द गरिसकेको छ । कोरोनाको प्रकोप दक्षिण कोरिया तथा कतारमा समेत देखिएपछि यो नेपालका लागि सबैभन्दा चिन्ताको विषय बनेको छ । दक्षिण कोरिया र कतार नेपालका प्रमुख श्रम गन्तव्यहरु हुन् । चीनको वुहान सहरमा डिसेम्बर महिनाबाट शुरु भएको कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिएको छ । जसले विश्व पर्यटन तथा हवाई उड्ययन क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने देखिएको छ ।
विश्वव्यापी रुपमा नै यात्रा गर्ने मानिसहरु घटिरहेका छन् । भारतले पनि हालै जापानी र कोरियालीहरुलाई प्रवेशमा दिइने प्रवेशाज्ञा अस्थायी रुपमा बन्द गरेको छ ।
नेपालले पनि प्रवेशाज्ञामा रोक र कोरोना प्रभावित देशहरुसँग हवाइ उडान बन्द गर्ने सम्बन्धमा गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि आवश्यक सबै पहलकदमी लिन निर्देशनात्मक आग्रह गरेका छन् ।
पर्यटन प्रवद्र्धनका सबै अन्तर्राष्ट्रिय कार्यक्रमहरु बन्द गरे पनि सन् २०२० को भ्रमण वर्ष लक्षित नेपाल भ्रमण वर्षको सचिवालयलाई बन्द गर्ने या नगर्ने भन्ने सम्बन्धमा सरकारले कुनै निर्णय लिइसकेको छैन ।