चैत १९ देखि युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री हुने
झरना कँडेल
काठमाडौं, २४ फागुन । नेपालमा आगामी चैत्रदेखि युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्री गरिने भएको छ । नेपाल आयल निगमले चैत १९ गतेदेखि वातावरणमैत्री यूरो ६ मापदण्ड अनुसारको पेट्रोलिय पदार्थ बिक्री सुरु गर्ने जनाएको छ ।
नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार भारतीय आयल कार्पोरेशन ( आइओसी )ले भारतका सबै रिफाइनरी केन्द्रलाई यूरो ६ को मापदण्डअनुसार अपग्रेट गरिरहेकोले नेपाललाई पनि सो मापदण्डको पेट्रोलियम पदार्थ पठाउने छ । गोइतले भने–‘ भारतमा युरो ६ मापदण्डको पेट्रोलियम पदार्थ खपत हुने गरेको र हाल नेपालमा युरो ४ मापदण्डको खपत हुने गरेकोमा अब युरो ६ मापदण्डको लागु गरिनेछ ।’ भारतबाट युरो ६ मापदण्डको पेट्रोलियम पदार्थ ल्याएपछि विस्तारै युरो ४ मापदण्डलाई विस्थापित गर्दै लैजाने निगमको योजना रहेको उनले अर्थको अर्थलाई जानकारी दिए ।
युरो ४ र युरो ६ मा सल्फर कन्टेन्टको मात्रै फरक रहेकाले अहिले भण्डारण गरिराखेकै स्थानमा उक्त भण्डारण गर्न मिल्ने उनले बताए । अहिले भैरहेको पेट्रोलियम पदार्थ बिस्तारै सकिदै जाने र त्यसैमा फेरि युरो ६ मापदण्डको भण्डारण गर्दा केहि फरक नपर्ने उनको भनाइ छ ।
निगमका अनुसार युरो ६ मा सल्फरको मात्रा युरो ४ कोभन्दा ४० पीपीएमले कम हुने भएकाले त्यसको प्रयोगले सवारी साधनबाट निकै कम मात्रामा प्रदुषण निस्कन्छ । जसले वातावरण प्रदुषणमा कमि ल्याउन मद्दत गर्छ ।
तर अहिले पनि आइओसीले परीक्षणको रुपमा युरो ६ मापदण्डको पेट्रोलियम पदार्थ नेपाल पठाइरहेको गोइतले बताए । उनले भने–‘औपचारीक रुपमा भने युरो ६ मापदण्डको भने आएको छैन् । आइओसीले औपचारीक रुपमा फस्र्ट अप्रीलबाट पठाउँने कुरो छ ।’