Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गभर्नर नियुक्तिका लागि अव बस्ने मन्त्रीपरिषद्ले सिफारिस समिति गठन गर्ने, यस्तो छ प्रक्रिया

गभर्नर नियुक्तिका लागि अव बस्ने मन्त्रीपरिषद्ले सिफारिस समिति गठन गर्ने, यस्तो छ प्रक्रिया

काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति प्रक्रिया अव छिटै सुरु हुने भएको छ । राष्ट्र बैंक ऐन अनुसार मन्त्रीपरिषद् बैठकले अर्थमन्त्रीको संयोजकत्वमा नयाँ गभर्नर सिफारिस समिति गठन गर्नुपर्ने छ । तर प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएकाले बैठक बस्न सकेको छैन ।

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल भइसकेकाले अस्पतालबाट डिस्चार्ज भएपश्चात बस्ने पहिलो बैठकले सिफारिस समिति गठन गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थको अर्थलाई जानकारी दिए । त्यसपश्चात आवश्यक प्रक्रिया पूरा गरि नयाँ गभर्नर छिटै नियुक्त गरिने उनले बताए ।

वर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालले पाँच वर्षे कार्यकाल पूरा गरी आगामी चैत ५ गते अवकास पाउदै छन्। यस हिसाबले सरकारले आगामी चैत ५ गतेभित्र नयाँ गभर्नर नियुक्त गरिसक्नु पर्छ।

अर्थमन्त्रीको संयोजत्वमा बन्ने समितिमा पूर्व गभर्नर मध्येबाट एक जना र अर्का एक जना सरकारले तोकेको व्यक्ति सदस्य रहने व्यवस्था छ ।

समितिले गभर्नरका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, तथा वाणिज्य क्षेत्रको प्रतिष्ठित ब्यक्तिबाट दुईजना र राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट एक जना गरि कुल ३ जनाको नाम सिफारिस गर्नुपर्ने छ । सोही ३ जनाको नामबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने छ ।

को छानिएला नयाँ गभर्नर

हाल नयाँ गभर्नरका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, केही समय अघि मात्र सरकारबाट क्लिन चिट लिएर काममा फर्किएका अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र अर्थमन्त्रालयको सचिवबाट भर्खरै अवकास पाएका डा.राजन खनालको नाम चर्चामा छ ।

यी बाहेक राष्ट्र बैंकका संचालक समिति सदस्य सुबोध कर्ण, कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले पनि आकांक्षा देखाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x