आज रंगहरुको पर्व फागु पूर्णिमा उल्लासका साथ मनाइँदै
काठमाडौं, २६ फागुन । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आज उल्लासपूर्वक फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ ।
वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ ।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग होली पर्वसँग जोडिएको छ ।
नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ ।
तर यो पटक सरकारले कोरोना भाइरसको त्रासका कारण होलीका अवसरमा भिडभाडमा नजान र कुनै सार्वजनिक सभा, समारोह आयोजना नगर्न आग्रह गरेको छ ।