Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

टुटल, पठाओ बन्द गर्न आग्रह, सञ्चालक भन्छन्–‘बन्द हैन नियमन गरियोस्’

टुटल, पठाओ बन्द गर्न आग्रह, सञ्चालक भन्छन्–‘बन्द हैन नियमन गरियोस्’

काठमाडौं, २८ फागुन । मिटर ट्याक्सी व्यवसायीहरुको आन्दोलनपछि यातायात व्यवस्था विभागले राइड सेयरिङ प्लेटफर्ममार्फत् बुकिङ गरी प्रयोग गरिने सवारीसाधन टुटल, पठाओ बन्द गर्न आग्रह गरेको छ । विभागले सूचना जारी गरी निजी सवारीसाधनलाई आफूखुसी भाडा तोकेर यात्रु बोक्नु कानुनको बर्खिलाप भएको जनाएको छ ।

तर, टुटल र पठाओका सञ्चालकहरुले भने यो सेवाले प्रयोगकर्तालाई सहज भएको बताएका छन् । उनीहरुले सरकारलाई नीति ल्याएर निरन्तर रुपमा सेवा दिनलाई बाटो खुला गरिदिन अनुरोध गरेका छन् । विकासको सहयात्री प्रविधि भएकाले त्यसलाई नीति बनाएर आगाडि बढे आफूहरु सरकारको नीति अनुसार चल्ने उनीहरुको भनाई छ । टुटलका सञ्चालक शिक्षित भट्ट भन्छन्–‘प्रविधिलाई दवाएर राख्ने हैन् । बरु त्यसलाई त व्यवस्थापन गर्न आवश्यक छ । हामीले एउटा प्लेट फर्म दिने हो त्यसको व्यवस्थापन गर्ने जिम्मा सरकारको हो । सरकारले यसलाई व्यवस्थापन गर्न कानुन बनाओस् । हामी त्यही अनुरुप चल्न तयार छौं ।’

त्यस्तै नविनतम काममा अन्यौलताका कारण यस्ता वाधा आउँने गरेको भट्टको भनाई छ । उनी भन्छन्– ‘टुटलमा अहिले करिव ३ हजार राइडरहरु आवद्ध छन् । यहाँ आवद्ध हुनेहरु अफिसमा काम गर्न समय नभएकाहरु र विद्यार्थीहरु बढी छन् । यसले आफ्नो लागि खर्च जोहो गर्न सहज हुनुकासाथै यात्रुलाई सहज सेवा पनि उपलब्ध भएको छ ।’

त्यसैगरी विभागले कानुन विपरीत काम गरेमा यातायात व्यवस्था ऐन बमोजिम कारबाही गरिने बताएको छ । ‘विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरु आफूखुसी भाडा तोकी सार्वजनिक सवारीका रुपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ का दफा १२ को उपदफा १ मा भएको‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अन्य प्रयोजनका निम्ति प्रयोग गर्न पाइदैंन,’ विभागले भनेको छ ।

विभाग, मातहत निकाय तथा अन्य सम्बन्धित निकायबाट टुटल, पठाओ सञ्चालन भए, नभएकोकडाइका साथ अनुगमन गर्ने भन्दै विभागले निजी प्रयोजनका सवारीसाधनलाई भाडाका यात्रु बोक्ने काममा नलगाउन आग्रह गरेको हो ।
यसअघि रघुवीर महासेठ मन्त्री हुँदा पनि विभागले टुटल, पठाओमा रोक लगाएको थियो । यसको सर्वत्र विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै टुटल, पठाओ चलाउन दिन आग्रह गरेका थिए । वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङले पनि टुटल, पठाओ चलाउन दिने बताएका थिए । यद्यपि नयाँ व्यवस्थापछि भने उनले कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

गत साता पठाओका ट्याक्सीमाथि मिटर ट्याक्सी व्यवसायीले आक्रमण समेत गरेका थिए । छिमेकी भारतमा पनि ओला क्याबको प्रयोगले व्यापकता पाएपछि त्यहाँका ट्याक्सी व्यवसायीहरुले आन्दोलन गरेका थिए । नेपालमा टुटल, पठाओलाई इनोभेटिभ व्यवसाय मान्ने या नमान्ने भन्ने बहस जारी नै छ । यद्यपि यातायात व्यवस्था विभागले भने यसलाई रोक लगाउन पटक–पटक प्रयास गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x