कोरोनाको त्रास : शेयर बजारमा, कारोबार समयावधि घटाउँन आग्रह
काठमाडौं, ५ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समयाअवधि थप गरेयता शेयर कारोबारमा सुधार आउँन सकेको छैन् । सोमबार झिनो अंकले वृद्धि भएको नेप्से परिसूचक लगातार दोहोरो अंकले घट्न थालेको छ । साताको चौथो कारोबार दिन (आज) नेप्से परिसूचक १६.२६ अंक घटेको छ । हिजो परिसूचक ४४.३३ अंकले घटेको थियो । त्यस्तै आज नेप्से परिसूचक १२५५.८० विन्दुमा रोकिएको छ । १ सय ७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता शेयर १ अर्ब १८ करोड ४४ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
नेप्सेले गत आइतबारदेखि शेयर कारोबार समयावधि एक घण्टा थप गरेको थियो । लगानीकर्ताको सुविधालाई ध्यानमा राखी समयावधि थप गरिएको भएपनि कोरोना भाइरसको त्रास फैलिएको समयमा समयावधि थप गर्नु उपउक्त नभएको लगानीकर्ताहरुको भनाई छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको त्रास बढिरहेको र यस्तो अवस्थामा समयावधि थप उपयुक्त नभएको शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । स्कुल कलेज नै बन्द गर्नुपर्ने स्थितिमा शेयर कारोबारमा समयअवधि थप गर्नुभन्दा अझ घरबाट नै अनलाईनमार्फत सीमित अवधिमा कारोबार गर्ने व्यवस्था मिलाउँनु पर्ने उनको भनाई छ ।
बुधबार सर्वाधिक कारोबार नेपाल लाइफ इन्स्योरेन्सको
आज सर्वाधिक शेयर कारोबार नेपाल लाइफ इन्योरेन्स कम्पनीको भएको छ । उक्त इन्स्योरेन्स कम्पनीको ९ करोड ३१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै एनआईसी एशिया बैंकको ८ कारोड ३३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सर्वाधिक शेयर मूल्य वृद्धि भएर जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको ९.९६ प्रतिशत शेयर मूल्य वृद्धि भएको हो । आज यो कम्पनीको १४२ रुपैयाँ प्रतिशेयर मूल्य वृद्धि भएर अन्तिम मूल्य १ हजार ५६७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै कारोबारमा आएका १२ समूह समूहमध्ये व्यपार समूहबाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ । व्यापार समूहको ३.२४ प्रतिशतले परिसूचकमा वृद्धि भएको हो । त्यस्तै सर्वाधिक परिसूचक घट्नेमा निर्जीवन बीमा समूह रहेको छ । यो समूहको २.१२ प्रतिशतले परिसूचकमा कमी आएको हो ।