कोरोनासँग बच्न सरकारले ल्यायो रक्षात्मक उपाय, ५५ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक
काठमाडौं, ६ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस डिजिज् (कोभिड–१९) सँग बच्न सरकारले रक्षात्मक उपायहरु अघि सारेको छ । नागरिकहरुलाई नआत्तिन तर सचेत र सुरक्षित रहन भनिएको छ । आजदेखि सुरु हुने सेकेण्डरी एजुकेसन इक्जामिनेशन (एसईई) परिक्षा स्थगित गरिएको छ । विश्वविद्यालय र सीटीइभिटीका परिक्षा समेत स्थगित गरिएका छन् । २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ भने सिनेमा हल, डान्सबार, हेल्थक्लब, स्वीमिङ पुलहरु बन्द गरिएको छ ।
सार्वजनिक सवारी साधनमा सीट क्षमताभन्दा यात्रु बोक्न नपाइने र सवारीधनीले सार्वजनिक यातायतालाई डिस्इन्फेक्टेड गर्नुपर्ने उल्लेख छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेतृत्व गरेको उच्चस्तरीय समन्वय समितिले यस्तो निर्णय लिएको हो । सरकारका निर्णयले प्रि-लक्डाउनको स्थिति पैदा भएको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी चीनले नियन्त्रणमा लिएपनि अहिले युरोप, पश्चिम एसियाली खाडी देशहरु र अमेरिकामा फैलिएको छ । कोरोना भाइरसका कारण युरोपेली देश इटली सबैभन्दा बढी आक्रान्त बनेको छ । इटलीमा यस भाइरसको संक्रमणका कारण झण्डै ३००० व्यक्तिहरुको मृत्यु भइसकेको छ । चीनमा ३,२०८ व्यक्तिको मृत्यु भएको छ । चीनभन्दा बाहिर इटली सबैभन्दा बढी संक्रमण र मृत्युदर भएको देश हो ।
भारतमा पनि कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भइरहेको छ । छिमेकी भारतदेखि नेपाली कामदार रहेका दक्षिण कोरिया, पश्चिम एसियाका कतार, कुवेत, बहराइन, ओमन, संयुक्त अरब लगायतका देशमा समेत कोरोना भाइरस फैलिएपछि सरकारले सतर्कता अपनाएको हो ।
सरकारले जारी गरेको सूचनामा कोरोना संक्रमितलाई सरकारी, सामुदायिक र निजी अस्पतालमा उपचारको व्यवस्था मिलाउने, सिनेमाहल तथा सांस्कृति केन्द्र, रंगशाला, खेलकुद, जिम, हेल्थक्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार आदि चैत मसान्तसम्म बन्द गर्ने उल्लेख छ ।
सरकारले मानिसहरुलाई अत्यावश्यक काममा बाहेक हिंडडुल नगर्न आग्रह गरेको छ । सामाजिक र सांस्कृतिक कार्यहरु, मठमन्दिर, गुम्बा मस्जिद, पार्टी प्यालेस आदि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । गृह मन्त्रालय तथा संस्कृति, पर्यटन र नागरिक उड्ययन मन्त्रालयले यसको अनुगमन गर्ने उल्लेख छ ।
मानिसहरुको जमघट बढी हुने स्थानलाई स्थानीय सरकारले समय समयमा डिस्इन्फेक्सन गर्नुपर्ने उल्लेख छ । त्यस्तै, पर्याप्त आपूर्ति रहेकाले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको जम्माखोरी नगर्न सरकारले आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयलाई सघन अनुगमनका लागि खटाइएको छ । आवागमनमा अवरोधका कारण आफ्नो देश फर्कन नसकेका विदेशीहरुले आवेदन दिएमा भीसा अद्यावधिक गरिदिने उल्लेख छ ।
युरोप, पश्चिम एसिया र खाडी क्षेत्रका सबै मुलुकहरु एवं टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सीधा उडान भइ आउने र ती मुलुकलाई ट्रान्जिट बजाएर आउने अथवा उल्लेखित मुलुकबाट प्रथम यात्रा शुरु गरी जुनसुकै मुलुकलाई ट्रान्जिट बनाएर आउने यात्रुलाई चैत ७ शुक्रबार मध्यरातदेखि चैत ३० आइतबारसम्म आवागमनमा प्रतिबन्ध लगाउने निर्णय सरकारले लिएको छ । वायु सेवा कम्पनी र विदेशस्थित नेपाली कुटनीतिक नियोगले यो सूचना पठाइएको छ । सरकारको ट्राभल एड्भाइजरीका कारण यात्रुले यात्रा रद्द गर्दा या पछि सार्दा निःशुल्क गर्न सकिने व्यवस्था गर्न आग्रह गरिएको छ । सबै शैक्षित प्रतिष्ठानहरु चैत मसान्तसम्मका लागि बन्द गरिएका छन् ।
सरकारी, सामुदायिक, निजी क्षेत्रका तालिम केन्द्र र प्रतिष्ठान बन्द गर्ने तथा सभा, सेमिनार, गोष्ठी, तालिम, सम्मेलन चैत मसान्तसम्म बन्द गरिएको छ । होटल, रिसोर्ट, लज, रेष्टुरेन्ट बारमा ज्वरो मापन गर्ने उपकरण सामग्रीहरुको व्यवस्था गरी उक्त स्थानमा व्यक्तिको स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाउन आग्रह गरिएको छ । कार्यस्थलमा स्यानिटाइजरको प्रबन्ध गर्न र कार्यस्थलका कुर्सि, टेबल, शौचालय, बार, रेलिङमा डिस्इन्फेक्सन गर्न सरकारले आग्रह गरेको छ ।
यसका अतिरिक्त सञ्चार माध्यम र सामाजिक सञ्जालबाट समेत भ्रम फैलाउने काम नगर्न सरकाले आग्रह गरेको छ । यस्तो गरेमा कानूनी कारबाही गरिने सरकारले उल्लेख गरेको छ । सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी, गैर सरकारी कार्यालयले कार्यलय सफा र डिस्इन्फेक्टेड राख्न आग्रह गरिएको छ । स्थलमार्गबाट नेपाल आउने सबै यात्रुले हेल्थ डिक्लेरेसन फर्म भर्न अनिवार्य गरिएको छ भने उनीहरुको स्वास्थ्य जाँच समेत हुनेछ ।