Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोरोनासँग जुझ्न र अर्थतन्त्र बचाउन विश्व बैंकको १४ अर्ब, एडीबीको ६.५ अर्ब डलर

कोरोनासँग जुझ्न र अर्थतन्त्र बचाउन विश्व बैंकको १४ अर्ब, एडीबीको ६.५ अर्ब डलर

काठमाडौं, ६ चैत । कोरोना भाइरसको महामारीसँग बच्न अत्यावश्यक स्वास्थ्य सुरक्षा र यसबाट प्रभावित अर्थतन्त्र बचाउनका लागि विश्व बैंक समूहका विश्व बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) तथा एसियाली विकास बैंक (एडीबी)ले सहायता प्याकेज सार्वजनिक गरेका छन् ।
विश्व बैंकले कोरोना निरोध, पहिचान र उपचारका लागि ६ अर्ब अमेरिकी डलर र आइएफसीले ८ अर्ब अमेरिकी डलरको प्याकेज सार्वजनिक गरेका छन् । एडीबीले ६.५ अर्ब अमेरिकी डलरको प्याकेज सार्वजनिक गरेको हो ।

विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सञ्चालक समितिले आज थप १४ अर्ब अमेरिकी डलरको द्रुत वित्तियकरण प्याकेज अनुमोदन गरेको छ । यो सहायता विभिन्न राष्ट्रहरु र कम्पनीहरुलाई तीव्र गतिमा फैलिरहेको कोभिड–१९ निरोध, पहिचान तथा सम्बोधनका लागि उपलब्ध हुनेछ । यो प्याकेजले जनस्वास्थ्य सतर्कता राष्ट्रिय प्रणाली सुदृढीकरण अन्तर्गत रोग नियन्त्रण, उपचार र निदान र निजी क्षेत्रलाई सहयोग गर्नेछ ।

यी सबै दातृ निकायको सहयोग विकासशील राष्ट्रका आवश्यकता केन्द्रित हुन् । विश्व बैंकले न्यून आय भएका मुलुकमा अनुदान समेत दिएको छ । यसबाट नेपालले २ करोड ९० लाख डलर अर्थात् करिब सवा तीन अर्ब रुपैयाँ प्राप्त गरेको छ । आइएफसीले निजी कम्पनीहरुलाई ऋण तथा बैंकहरुमार्फत् निजी क्षेत्रलाई कर्जा सुविधा उपलब्ध गराउनेछ ।

आइएफसीले उपलब्ध गराउने वित्तिय सुविधाको ठूलो हिस्सा यसका ग्राहक बैंकिङ्ग संस्थाहरुमार्फत् परिचालन हुनेछ । यसबाट व्यापारका लागि वित्तिय सुविधाका अतिरिक्त कार्यशील पुँजी सहायता तथा आपूर्ति व्यवस्थामा उत्पन्न अवरोधले संघर्षरत निजी कम्पनीहरुलाई मध्यकालीन वित्तिय सुविधा उपलब्ध हुनेछ । आइएफसीको सम्बोधनले महामारीका कारण प्रत्यक्ष मारमा परेका पर्यटन तथा उत्पादनमूलक उद्योग लगायत आर्थिक क्षेत्रका विद्यमान यसका ग्राहकहरुको दायित्व भुक्तानीमा सहयोग पुग्नेछ । यो प्याकेजले महामारीलाई सम्बोधन गरिरहेका स्वास्थ्य सेवा र यससँग सम्बन्धित उच्च मागको सामना गरिरहेका चिकित्सा उपकरण, औषधी उद्योग जस्ता क्षेत्रहरु लाभान्वित हुनेछन् ।

‘पुनर्स्थापनाको समय छोट्याउन अत्यावश्यक छ । यो प्याकेजले कोभिड–१९ को विस्तारले व्यवसाय र तिनका कामदारलाई वित्तिय तथा आर्थिक प्रभाव न्यूनीकरणमा तत्काल सहयोग पु-याउँछ,’ विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासले भनेका छन्, ‘ विश्व बैंक विकासशील राष्ट्रहरुको आवश्यकता अनुसार छिटो, छरितो ढंगले सम्बोधनका लागि प्रतिबद्ध छ । सहायता कार्यहरु पहिले नै शुरु भैसकेका छन्, आज स्वीकृत विस्तारित वित्तिय उपकरणले अर्थतन्त्रहरु, कम्पनीहरु र रोजगारी बचाउन मद्दत गर्नेछ ।’

विश्व बैंक समूहबाट यसअघि मार्च ३ मा घोषणा भएको १२ अर्ब अमेरिकी डलर राहत प्याकेजमा २ अर्ब थप भएको हो । आइएफसीका ग्राहकहरुको अनुरोधमा मार्च १७ मा ग्लोबल ट्रेड लिक्विडिटी प्रोग्राम एण्ड द क्रिटिकल कमोडिटिज् फाइनान्स प्रोग्राम (विश्वव्यापी व्यापार तरलता कार्यक्रम र अत्यावश्यक वस्तुका लागि वित्तिय सुविधा कार्यक्रम) गरी दुई कार्यक्रम २ अर्ब डलर स्थानीय बैंकहरुलाई जोखिम साझेदारी सहयोगका रुपमा उपलब्ध गराउने उल्लेख छ । यसले उदयमान बजारका कम्पनीहरुमा वित्तियकरणले निरन्तरता प्राप्त गर्न सक्ने आइएफसीले उल्लेख गरेको छ ।
‘यो महामारीले जीवन मात्र होइन, अर्थतन्त्रहरु र जीवनस्तर पनि स्वास्थ्य संकटकालकै अवस्थामा जसरी चल्ने देखिन्छ । यो समयमा पनि हाम्रा ग्राहकहरुका उद्यम/व्यवसाय सञ्चालनलाई सुनिश्चित गरेर विकाशशील राष्ट्रका निजी क्षेत्र सक्षम भएर अर्थतन्त्रलाई चाँडै पुनर्स्थापना गर्न सहयोग गर्नेछन् भन्ने अपेक्षा गर्न सक्छौं,’ आइएफसीका प्रमुख कार्यकारी अधिकृत फिलिप ले हुरलाई उद्धृत गर्दै आइएफसीले भनेको छ, ‘फलतः यसले जोखिममा रहेका समूहलाई उनीहरुको जनजीविका यथाशीघ्र पुनर्स्थापना गर्न र भविष्यका लागि लगानीलाई निरन्ता दिन सहयोग गर्छ ।’
सन् २००८ को विश्वव्यापी वित्तिय संकट र पश्चिम अफ्रिकी इबोला भाइरसको महामारीको समयमा पनि आइएफसी तत्कालै परिचालित भएको थियो । ‘विकासशील देशका निजी क्षेत्रका गतिविधि र आर्थिक विस्तारमा उत्पन्न बाधाव्यवधान सम्बोधनका लागि विश्वव्यापी र क्षेत्रीय संकटसँगका प्रतिवाद पहलकदमीमा सफल पदचाप रहेको’ आइएफसीले उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x