हवाईभाडा घटाउन व्यवसायी सहमत
काठमाडौं, ९ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आग्रहपछि हवाई भाडा घटाउन व्यवसायीहरु सहमत भएका छन् । पछिल्लो केही दिनयता काठमाडौंबाट देशका विभिन्न भागमा जानेहरुको संख्या बढेपछि एयरलाइन्सहरुले हवाइ भाडाको माथिल्लो स्ल्याब अनुसार भाडा लिन थालेका छन् ।
सरकारले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्दै आम नागरिकहरुलाई सेल्फ आइसोलेसनमा बस्न आह्वान गरेपछि काठमाडौं छाडेर बाहिरिनेको संख्या अत्याधिक बढेको छ । यसको मौका छोप्दै एयरलाइन्सले माथिल्लो स्ल्याबको भाडा असुल्न लागेको हुन् । एयरलाइन्सदेखि लामोदूरीका बसको भाडा समेत वृद्धि भएको छ । बसको टिकटमा ठगी गर्ने दुई दर्जनभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको महानगरिय प्रहरी परिसरका डिएसपी हविन्द्र बोगटीले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रमुख वायुसेवाका सञ्चालकहरुसँग छलफल गरी संकटको समयमा नागरिकलाई सकेसम्म सुलभ मूल्यमा सेवा दिन आग्रह गरे । मन्त्रीको आग्रहपछि व्यवसायीहरु भाडा नबढाउने भएका हुन् ।
रुट भाडाको माथिल्लो स्ल्याब
माउन्टेन ११,१५०
पोखरा ४,९७५
भरतपुर ३,६०५
विराटनगर ७,७४०
जनकपुर ४,२४०
सिमरा ३,०८०
भैरहवा ६,१०५
धनगढी १२,४५०
नेपालगन्ज ९,८५०
भद्रपुर ८,९६५
तुम्लिङटार ५,९२०
सुर्खेत ११,२४५
राजविराज ६,११०
लुक्ला ४,९७०
जोमसोम २,९८०
(वायु सेवा सञ्चालक संघ नेपाल)