बैंक तथा वित्तको मुद्दती निक्षेपमा सुधार

काठमाडौं, ९ चैत । चालू आर्थिक वर्षको ६ महीनामा नेपालका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा सुधार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस्ता संस्थाको कुल निक्षेपमा मुद्दतीको हिस्सा सबैभन्दा धेरै छ ।

बैंक तथा वित्तीय संस्थाहरूको बचत खातामा भन्दा मुद्दती निक्षेपमा रकम बढेपछि यसको अंश बढेर कुल निक्षेपकै ४९ दशमलव ९ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप कुल निक्षेप ३५ खर्ब ६२ अर्बमध्ये मुद्दतीमा मात्र १७ खर्ब ४८ अर्ब रुपैयाँ संकलन भएको छ ।

गत आवको यसै अवधिमा कुल निक्षेपमा मुद्दतीको हिस्सा ४६ दशमलव ६ प्रतिशत थियो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ३० खर्ब ८२ अर्बमध्ये मुद्दती निक्षेपमा १४ खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो ।

निक्षेप बढाउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले दबाब दिँदै आए पनि चालू आर्थिक वर्षको पहिलो ६ महिनामा यसको वृद्धिदर भने ६ दशमलव ४ प्रतिशत मात्र छ, जुन गत आवको यसै अवधिमा ८ दशमलव ७ प्रतिशत थियो । चालू आवको माघसम्ममा कुल निक्षेप ३५ खर्ब ६२ अर्ब रुपैयाँ छ भने गत आवको सोही अवधिमा ३० अर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो । बैं

क तथा वित्तीय संस्थालाई बढीभन्दा बढी निक्षेप उठाएर कर्जा लगानीको वातावरण बनाउन जोड दिइएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टको भनाइ छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले दिँदै आएको छोटो अवधि तथा लामो अवधिको ब्याजदर करीब उस्तै हुने हुँदा साधारण बचत खातामा भन्दा मुद्दतीमा ग्राहकको आकर्षण बढेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए ।

चालू आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा ३१ दशमलव ६ प्रतिशत हिस्सा साधारण बचतको छ । चालू आवको माघसम्ममा साधारण बचतमा १० खर्ब ८८ अर्ब रुपैयाँ बराबरको संकलन भएको राष्ट्र बैंकको तथ्यांक छ । यस्तै चल्ती खातामा २ खर्ब ७६ अर्ब रुपैयाँ रकम संकलन भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले माग तथा अल्प सूचनामा आधारित निक्षेपमा कडाइ गर्दै आए तापनि यसको संकलन गत आवको तुलनामा १५ दशमलव १९ प्रतिशत बढेको छ । गत आवको माघ मसान्तमा यस्तो निक्षेप ३ खर्ब ४७ अर्ब रुपैयाँ संकलन भएको थियो । चालू आवको यसै अवधिमा बढेर ४ खर्ब ८ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *