चैत २१ सम्मलाई एयरलाइन्सहरुले भाडा घटाए
काठमाडौं, ९ चैत । वायु सेवा सञ्चालकहरुले सरकारले स्वीकृत गरेको भाडादरमा २० देखि ३६ प्रतिशतसम्म छुट दिने भएका छन् । उनीहरुले सोमबारदेखि चैत २१ सम्म अहिले समायोजन गरेको भाडादरमा सेवा दिने उल्लेख गरेका छन् । वायु सेवा सञ्चालकहरुले सीमरा, भरतपुर र जनकपुरबाहेकका उडानमा सरकारले स्वीकृत गरेको स्ल्याबभन्दा २० देखि ३६ प्रतिशत सम्म सस्तो गरी यात्रुलाई संकटमा सहयोग गर्ने भएका हुन् । सरकारले चैत २१ सम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । एयरलाइन्सहरुले उक्त अवधिमा सुचारु अत्यावश्यक सेवाको रुपमा जनतालाई सुविधा दिएका हुन् ।
कोरोना भाइरससँग बच्न रक्षात्मक उपाय स्वरुप सरकारले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेपछि काठमाडौंबाट बाहिरिनेहरुको संख्या वृद्धि भइरहेको छ । यात्रुको चापले हवाई भाडा वृद्धि गरेको भन्ने प्रचारमा कुनै सत्यता नरहेको भन्दै वायु सेवा सञ्चालक संघ, नेपालका प्रवक्ता योगराज शर्मा कँडेलले संकटका समयमा आम नागरिकलाई सहयोग गर्न सामाजिक उत्तरदायित्व स्वरुप भाडा घटाएको बताए । यद्यपि सरकारले स्वीकृत गरेको उच्चतम स्ल्याबसम्म एयरलाइन्सले भाडा कायम गर्न सक्ने उनले बताए । संघले हवाई भाडामा ४० प्रतिशत हिस्सा इन्धनको हुने भएकाले विश्व बजारमा घटिरहेको हवाई इन्धनको मूल्य सोही अनुसार समायोजन गरी यात्रुलाई सुविधा दिन पनि सरकारले पहल गर्नुपर्ने धारणा राखेको छ ।
ट्रंक रुटमा उडान गर्ने वायु सेवा संघका सदस्यहरु बुद्ध र यति एयरलाइन्सले विषम परिस्थितिलाई मध्यनजर गर्दै हवाई भाडा कम गर्ने संघले बताएको छ ।