Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कञ्चनपुर लकडाउन, महेन्द्रनगर सुनसान

कञ्चनपुर लकडाउन, महेन्द्रनगर सुनसान

महेन्द्रनगर, १० चैत । कोभिड १९ को सम्भाव्य प्रकोप रोक्न कञ्चनपुरलाई हिजो रातिदेखि लकडाउन गरिएको छ । भारतबाट नेपाल फर्कने केही व्यक्तिमा कोरोनाको आशंका गरिएपछि जिल्लालाई नेपालमै पहिलोपटक लकडाउन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतवार राति १२ बजदेखि लागू हुनेगरी जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको सहायक जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए । लकडाउनपछि अत्यावश्यक काम बाहेक घर बाहिर नजान स्थानीय बासिन्दालाई अनुरोध गरिएको छ ।
यससँगै भारतीय सीमामा उच्च सतर्कता अपनाइएको सहायक जिल्ला अधिकारी उपाध्यायले बताएका छन् । दैनिक उपभोग्य सामान विक्री हुने पसलबाहेक अन्य सबै पसल, उद्योगधन्दा र व्यवसाय अर्को सूचना जारी नहुँदासम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । सरकारी तथा अन्य अत्यावश्यक सेवा प्रदायक कार्यालय खुला रहे पनि सेवा प्रवाह भने नहुने बताइएको छ ।
भारतबाट फर्किएका नेपालीमा कोरोना संक्रमणको आशंका भएपछि पश्चिमी सीमा नाका गड्डाचौकी मंगलवार बिहानदेखि पूर्णरुपमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतवार बसेको सरोकारवालाको बैठकले मंगलबार बिहान ७ बजेदेखि नाकामा पैदल यात्रुसमेत आवतजावत बन्द गर्ने निर्णय गरेको हो । संक्रमणको आशंका बढेपछि नाका बन्द गर्ने निर्णय गरिएको सहायक जिल्ला अधिकारी उपाध्यायले बताए ।
जिल्लाका अन्य नाका बन्द गर्ने निर्र्णय भने यसअघि नै भइसकेको छ । नाकाबाट प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच प्रभावकारी बनाइएको र उनीहरुको विवरण कम्प्युटर प्रणालीबाट राख्ने व्यवस्था गरिने भएको छ । गड्डाचौकी नाकाबाट आइतवार मात्रै २ हजार नेपाली भित्रिएका छन् ।
महेन्द्रनगर बजार प्रभावित
लकडाउनको असर महेन्द्रनगर बजारमा बढी परेको छ । बजारमा मेडिकल, खाद्यान्न लगायत अत्यावश्यक सेवाबाहेक सबै ठप्प छन् । यहाँबाट चल्ने गाडीहरु पनि रोकिएका छन् भने बाहिरबाट आउने गाडी केही मात्रामा चलेका छन् । मानिसहरु घरबाहिर कमै निस्किएका छन् ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा सर्वसाधारण नागरिकलाई आकस्मिक उपचार बाहेक घरबाहिर ननिस्कन भनिएको छ । साथै निर्देशनको पालन नगरे कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x