परिक्षण बढाउँदै जाँदा संक्रमित भेटिन थाले, पाँचौ कोरोना संक्रमित पुष्टी

काठमाडौं, १५ चैत । सरकारले कोरोना भाइरसको आशंकामा जाँच गर्न आएकाहरु तथा कोरोना संक्रमितसँग सम्पर्कमा आएकाहरुलाई पहिल्याएर परिक्षण गर्न शुरु गरेपछि कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । लकडाउनको पाँचौ दिन पाँचौ कोरोना संक्रमित पुष्टी भएको छ ।
हरेक दिनजसो कोरोना संक्रमण भएका एक एक जना बिरामी भेटिइरहेका छन् । एकै व्यक्तिले धेरैलाई सार्न सक्ने भएकाले पाँच जना कोरोना संक्रमित पुष्टी भैसकेकाले नेपालमा कोरोनाका अझै धेरै बिरामी पत्ता लाग्ने देखिन्छ ।
नेपालमा पहिलो कोरोना संक्रमित चीनको वुहान सहरबाट आएका विद्यार्थी हुन् । उनी उपचारपछि निको भएर घर फर्किसकेकका छन् । बाँकी भने उपचाररत छन् । उनीहरुलाई आइसोलेसनमा राखिएको छ । दोस्रो बिरामी फ्रान्सबाट कतारको दोहा हुँदै फर्केकी १९ वर्षे विरामी हुन् । तेश्रो संक्रमित दुबईबाट फर्केका धादिङका युवा हुने भने चौथो संक्रमित काठमाडौं उपत्यका बाहिर कैलालीका रहेको बताइएको छ । आज फेला परेका पाँचौ संक्रमित बेल्जियमबाट दोहा हुँदै नेपाल आएकी युवती हुन् । उनी दोस्रो संक्रमित फर्केकै कतार एयरवेजको जहाजमा चैत ४ गते नेपाल आएकी थिइन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको जानकारी दिए । ‘उहाँ चैत ४ गते ९१७ मार्च० मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आउनुभएको थियो, अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ, उहाँको अवस्था अहिले सामान्य छ ।’, डा. देवकोटाले भने ।
दोस्रो संक्रमित युवतीसँगै कतार एयरवेज र दुबई बाट आउने अन्य दुई संक्रमितसँगै रहेका यात्रुहरुको सरकारले खोजी गरिरहेको छ ।