Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक रूपमा स्थगित

‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक रूपमा स्थगित

काठमाडौं, चैत १९ । सरकारले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को विपत्तिका कारण ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक रूपमा स्थगित गरेको छ । वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो ।
सोही अनुसार सन् २०२० को जनवरी १ मा दशरथ रंगशालामा विभिन्न देशका पर्यटनमन्त्री तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूको सहभागितामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भ्रमण वर्षको उद्घाटन गरिएको थियो । यस्तै जनवरीको पहिलो साता विदेशस्थित विभिन्न दूतावास मार्फत भ्रमण वर्षको उद्घाटन गरिएको थियो ।
यसअघि सरकारले अप्रिलसम्मका लागि मात्र भ्रमण वर्ष स्थगित गरेकोमा कोरोना भाइरसको महामारीले विश्वभर प्रभाव पारेपछि अन्ततः मंगलवार औपचारिक रूपमै भ्रमण वर्ष स्थगित गरेको हो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।
भ्रमण वर्ष स्थगित भएसँगै भ्रमण वर्षको सचिवालयसमेत २०७७ वैशाख १ गतेदेखि विघटन हुने सचिव अघिकारीले बताए ।
१ महीनाअघि नै पर्यटन मन्त्रालयले भ्रमण वर्ष सचिवालयलाई अहिलेसम्म सचिवालयबाट भएका हिसाबकिताब १ महीनाभित्र मिलाउन र १ साताभित्रै करारमा रहेका कर्मचारीलाई अवकाश दिन पत्राचार गरेको थियो । नेपालले यसअघि १९९८ र सन् २०११ लाई पनि मा भ्रमण वर्षका रूपमा मनाएको थियो ।
कोरोनाको प्रभावले भ्रमण वर्ष प्रभावित हुने भएपछि सरकारले सन् २०२०–२०३० लाई पर्यटन दशकको रूपमा अघि बढाउन चैत पहिलो साता प्रदेशका पर्यटनमन्त्री तथा महानगर, उपमहानगरका प्रमुखसँग छलफल गरेको थियो । सो छलफलमा पर्यटनमन्त्री योगेश भट्टराईले नेपालमा समेत कोरोना संक्रमणको खतराका कारण आन्तरिक रूपमा समेत कुनै कार्यक्रम आयोजना गर्ने अवस्था नरहेकोले भ्रमण वर्ष स्थगित भए सरह नै रहेको बताएका थिए । साथै अबको नयाँ रणनीति पर्यटनका लागि पूर्वाधार विकास भएको उनको भनाइ थियो ।
सरकारले गतवर्ष कात्तिक १६ गते उद्योगी सुरज वैद्यलाई भ्रमण वर्षको राष्ट्रिय संयोजकमा नियुक्ति गरको थियो । कतिपय पर्यटन व्यवसायीले पूर्वाधारको विकास र अन्य तयारी कम भएको भन्दै त्यति बेला नै भ्रमण वर्ष २०२१ मा सार्न सुझाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x