कोरोना उपचारमा अरुण तेश्रोको १ करोड सहयोग
 
			काठमाडौं, १९ चैत । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाले एक करोड ५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । 
 आयोजना निर्माण गरिरहेको संखुवासभाको जिल्ला अस्पताललाई अरुण तेस्रो आयोजनाले १०.५ मिलियन अर्थात १ करोड पाँच लाख रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
 आयोजना निर्माण गरिरहेको भारतीय प्रर्वद्धक कम्पनी एसजेभीएन अरुण–३ पावर डेलभमेन्टले मुख्य गरी आईसियुका लागि दुई थान उन्नत भेन्टिलेटर, एक थान प्यासेन्ट मोनिटर, ५ थान अक्सिजन कन्सेन्टेटरस, दुई थान लरीङगोस्कोप सेट, ७ थान फाउलर वेड, २ थान पल्स अक्सिमिटर, तीन थान सक्सन मेशिन तथा १५ थान पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पीपीई) सेट लगायतका सामग्री सहयोग गरेको छ । 
 कम्पनीका सीईओ अरुण धिमानका अनुसार, एसजेभीएन (सतलज जलविद्युत्  निगम)का अध्यक्ष  नन्दलाल शर्माको पहलमा खाँदबारीस्थित जिल्ला अस्पताललाई सहयोग प्रदान गरिएको हो । एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी भारत सरकारको एसजेभीएन कम्पनीको पूर्ण स्वामित्वको कम्पनी हो । जसले नेपालमा ९०० मेगावाटको अरुण तेश्रो जलविद्युत् आयोजना विकास गरिरहेको छ । कोरोना भाइरसको महामारीबाट स्थानीय जनतालाई बचाउन स्वास्थ्य सुविधाको प्रबन्ध गर्ने गरी जिल्ला अस्पताल विकास समितिमार्फत् उक्त सहयोग हस्तान्तरण भएको हो । सबै सामग्रीहरु संखुवाभासमा ल्याएर प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत धिमानले जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई हस्तान्तरण गरेका थिए । 
 कम्पनीले आयोजना स्थल अन्र्तगतका विभिन्न गाउँहरुमा कोरोनाबारे जनचेतना जगाउने, ब्यानर राख्नुका साथै सरकार, स्थानीय जनता र अन्य आयोजनाका सरोकारवालाहरुका लागि समेत काम गरिरहेको जनाएको छ । आयोजनाका कर्मचारीहरुले कोरोनाको महामारीको रोकथानका लागि उनीहरुको तलबबाट अस्पताललाई पाँच लाख दिइएको कम्पनीले जनाएको छ । 
 कम्पनीले सरकारले घोषणा गरेको लक डाउनको आधारमा दुई हप्ता आयोजनाको काम रोक्नुका साथै कार्यरत सबैलाई कोरोना भाईरसबाट जोगिनका लागि आवश्यक निर्देशन दिइएको पनि जनाएको छ । सरकारको तर्फबाट थप घोषणा नगरेसम्मका लागि भारतबाट नेपाल र नेपालबाट भारत ओहोरदोहोर गर्न परामर्शदाता कम्पनी तथा निर्माण कम्पनीका सबैलाई बन्द गरिएको पनि कम्पनीले जनाएको छ । 




 
                         
                        