म्यादी बीमा शुल्क घट्यो, पोलीसी नविकरणमा जरिवाना नलाग्ने

काठमाडौं, १९ चैत । बीमा समितिले सबै जीवन बिमा कम्पनीहरुलाई वैदेशिक रोजगारीमा जानेका लागि जारी गरिने म्यादी जीवन बिमाको पोलीसी जारी गर्दा लाग्ने बीमा शुल्क सम्बन्धित व्यक्तिबाट नगद या चेकको साटो अनलाइन प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । सेवा प्रवाहको चाप र भौगोलिक क्षेत्रलाई समेत ख्याल गरेर सहजै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन बीमा क्षेत्रको नियामक, बीमा समितिले निर्देशन जारी गरेको हो ।
निर्देशनअनुसार, वैदेशिक रोजगारमा जानेको इलेक्ट्रोनिक प्रस्ताव फारमलाई बीमा कम्पनीहरुले मान्यता दिनुपर्नेछ । त्यस्तै, प्रिन्टकपीका अतिरिक्त डिजिटल, इलेक्ट्रोनिक बीमालेख पनि जारी गर्न सकिने छ । श्रम स्वीकृति प्रदान गरी विदेश जानु तीन महिना अघि र बीमा अवधि समाप्त नहुँदै अर्को भीसा प्रोसेसिङ गर्न लाग्ने अर्को तीन महिना समेत गरी ६ महिनामात्र लागू हुनेगरी बीमा गर्नुपर्ने व्यवस्था भएको छ । साथै विद्यमान कायम रहेको थप एक वर्षको सट्टा ६ महिनामात्र समयावधि रहने भएकाले समयावधि अनुसार बीमाशुल्क समानुपातिक रुपमा निर्धारण गर्न समितिले निर्देशन दिएको छ । विदेशस्थित कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृतिको लागि आवेदन गर्दा बीमा अवधि थप गर्न तिर्नुपर्ने बिमाशुल्क बीमा कम्पनीहरुले अनलाइनबाट लिने व्यवस्था मिलाउनुपर्नेछ । यस्तो सेवा सञ्चालन गर्दा कम्पनीहरुले वैदेशिक रोजगार विभाग र बीमा समितिसँग आवश्यक समन्वय गर्न सक्छन् । बीमा समितिले घातक रोगबापत् ५ लाख बीमांकको बीमा शुल्क सबै उमेर समूहलाई ४०० रुपैयाँ तोकेको छ भने अन्यको हकमा उमेर समूह अनुसार बीमा शुल्क परिवर्तन भएको छ ।
बीमा समितिले जीवन बीमाको बीमा शुल्क संकलन चैत सम्म स्थगन गरेको छ । अहिलेको कोरोना संक्रमणको परिस्थिति सामान्य भएपछि बिना ब्याज बीमा शुल्क संकलन गर्ने व्यवस्था मिलाइने उल्लेख गरेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुको बीमा लेखको प्रिमियम, नवीकरण शुल्क विद्युतीय भुक्तानीमार्फत् मिलाउन निर्देशन दिइएको छ । अभिकर्ता इजाजत नवीकरणका लागि भने बीमकमार्फत् बीमा समितिको नबिल बैंकको खातामा चैत मसान्तसम्म शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरिवाना नलाग्ने व्यवस्था गरिएको बीमा समितिले जनाएको छ ।
त्यस्तै निर्जीवन बिमा कम्पनीले तत्कालै उत्पन्न हुने दाबी भुक्तानीका लागि बीमितबाट यथेष्ठ प्रमाण संकलन गर्न र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाएर क्षति यकिन री दाबी भुक्तानी दिन निर्देशन जारी गरेको छ । यसका अतिरिक्त जीवन बिमा कम्पनीले भने अवधि समाप्तिपछि बीमा रकम विद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने र अन्य दाबीको हकमा बीमितले विद्युतीय माध्यमबाट निवेदन गरेमा यथेष्ठ प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशीघ्र दाबी भुक्तानी दिनुपर्ने बीमा समितिको निर्देशन छ ।