Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोरोना प्रभावले खुम्चिँदै विप्रेषण आप्रवाह

कोरोना प्रभावले खुम्चिँदै विप्रेषण आप्रवाह

पूर्ण प्रसाद चौलागाई २०७६ चैत १९ काठमाडौं । नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह पछिल्लो महीनाहरूमा घट्दै गएको पाइएको छ । गत आर्थिक वर्षको तुलनामा नेपालमा विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशत घटेको राष्ट्र बैंकको हालै प्रकाशित तथ्यांकले देखाएको छ ।

विप्रेषण आउने मुख्य देशहरूमा कोभिड १९ रोकथामका लागि विदेशी कामदार लिन रोक, लकडाउन जस्ता नीतिले ती मुलुकबाट रेमिट्यान्स आउने क्रम ठूलो मात्रामा रोकिएको छ । पछिल्लो समय विप्रेषण आप्रवाह २५ प्रतिशतसम्म घटेको रेमिट कम्पनीहरूले बताएका छन् ।
चालू आर्थिक वर्षको पहिलो महीना (साउन)मा नेपालमा रू. ७५ अर्ब ४० करोडभन्दा बढी विप्रेषण भित्रिएको थियो । यस्तै भदौमा भने बढेर रू. ७८ अर्ब ३३ करोड विप्रेषण भित्रिएको त्यसपछिका महीनाहरू निरन्तर घट्दै गएको पाइन्छ । माघमा रू. ६५ अर्ब ९५ करोड बराबरको मात्र विप्रेषण भित्रिएको छ ।

विप्रेषण आप्रवाह खुम्चिनुको मुख्य कारण कोरोना भाइरसको प्रकोप नै हो । यसको संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन बन्द गरिसकेको छ । यस्तै मुख्य श्रम गन्तव्य मुलुकहरूले समेत नेपाली लगायत विदेशी कामदान लिन बन्द गरेका छन् ।

नेपालमा बढी रमिट्यान्स भित्रने मुलुकहरू मलेसिया, कतार, साउदी अरब लगायत खाडी मुलुकका साथै भारत, अमेरिका लगायत हुन् । यी सबै मुलुकमा अहिले कोरोनाको कारण संकट उत्पन्न भएको छ ।

कोरोनाका कारण श्रम गन्तव्य मुलुकहरूमा आर्थिक गतिविधिमा कमी आउँदा त्यहाँ रहेका नेपाली कामदारको रोजगारीमा असर परेको छ । स्वाभाविक रूपमा यसले नेपाल भित्रने रेमिट्यान्स घटेको हो । कोरोना भाइरसको संक्रमण लम्बिँदै गए यसले रोजगारी र रेमिट्यान्समा अझै ठूलो असर पार्ने अर्थविद्हरूले औंल्याएका छन् ।

कोरोना भाइरसको प्रकोप कम हुनुको सट्टा दिनप्रतिदिन बढ्दै गएकाले नेपालका श्रम गन्तव्य मुलुकहरू नराम्ररी प्रभावित भएका छन् । यस्ता मुलुकहरू सामान्य अवस्थामा आउन लामो समय लाग्न सक्ने भएकाले त्यहाँको रोजगार क्षेत्रको भविष्य अन्योलमा छ । फलस्वरूप यी मुलुकमा नेपालबाट जाने कामदार घट्नेछ भने त्यहाँ रहेका साविकका कामदार पनि कटौतीमा पर्ने सम्भावना देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x