
काठमाडौं, २१ चैत । नेपाल उद्योग परिसंघले सरकारसँग सहकार्य गर्दै कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिको सामना गर्न लागिपरेको बताएको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको परिसंघले जानकारी दिएको छ ।
बिहीवार एक कार्यक्रममा सुदूरपश्चिम उद्योग परिसंघका संयोजक हेम विक्रम थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राहत सामग्री उपलब्ध गराएका छन् । त्यस्तै प्रदेश नं १ उद्योग परिसंघका प्रदीप शारदाले मुख्यमन्त्री शेरधन राईलाई राहत सामग्री हस्तान्तरण गरे ।
दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामग्री रहेका एक एक हजार थान प्यकेटहरु हस्तान्तरण गरिएको हो । बिहीवार नै प्रदेश नं २ र काठमाडौं तथा ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाहरुलाई समेत सहयोग प्रदान गरिएको परिसंघले बताएको छ । नेपालका सबै प्रदेशहरुमा यस्ता राहत सामग्रीहरु उपलब्ध गराइने परिसंघको भनाइ छ ।
यो रोगसंग जुध्न अग्रपंक्तिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मी, आपत्कालीन व्यवस्थामा खटीई रहेका हरेक व्यक्ति तथा संस्थाहरुको हौसला बढाइराख्न र संकट नटरेसम्म सबैलाई आत्मसंयम बनाइराख्न परिसंघले सबैलाई अनुरोध गरेको छ ।
यस्तो नाजुक अवस्थामा परिसंघ मानवीय संकट आउन नदिन परिसंघ प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ । साथै आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्तरता दिँदै सोको आपूर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत परिसंघले आग्रह गरेको छ ।
Leave a Reply