चालु आवमा ५.३% आर्थिक वृद्धिदर हासिल हुने एडीबीको प्रक्षेपण
कठमाडौं, २१ चैत । एसियाली विकास बैंकले चालु आवमा नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । नेपाल इकोनोमिक आउटलुक सार्वजनिक गर्दै बहुपक्षीय दातृ निकाय एडीबीले गत वर्षको ७.१ प्रतिशतको तुलनामा यो वर्ष कोरोना भाइरस महामारीका कारण आर्थिक वृद्धिदर सुस्त हुने बताएको छ ।
महामारीका कारण नेपालले २४ मार्चदेखि ७ अप्रिलसम्म लकडाउन गरेको छ । यसले औद्योगिक उत्पादन र समग्र मागमा कमी आएको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य कमी आउने र यसपालिको कृषि उत्पादनमा समेत कमी आएकाले आर्थिक वृद्धिदर कम हुने एडीबीको दलील छ । नेपालको अर्थतन्त्रमा कृषिले २७, सेवाले ५८ प्रतिशत, बाँकी उद्योग, निर्माण, रियलस्टेट आदि क्षेत्रको योगदान छ ।
त्यस्तै चालु आर्थिक वर्षमा मुद्रास्फिति औसत ६ प्रतिशत रहने प्रक्षेपण छ । गत वर्ष यस्तो मुद्रास्फिति ४.६ प्रतिशत मात्र थियो । त्यसभन्दा अघिल्लो वर्ष अझै ४.२ प्रतिशत थियो ।
खाद्यवस्तुमा वार्षिक मुद्रास्फिति ९.८ प्रतिशत छ । त्यस्तै अघिल्लो महिनादेखि सागपात, तरकारी, मसला र पेय पदार्थको मूल्य अधिक बढेको छ । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय सीमा नाकाहरु अस्थायी रुपमा बन्द भएपछि पनि खाद्य वस्तुको सुलभ आपूर्तिमा समस्या देखिने आँकलनमा या आपूर्ति हुन नसकेर मूद्रास्फिति बढीरहेको छ ।
त्यस्तै अघिल्लो वर्षको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा ४.९ प्रतिशतले कमी आएको छ । गत वर्ष सो भन्दा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बाह्य व्यापार बढेको थियो । निर्यात बढेर व्यापार घाटा केही कम भएपनि यो पाम आयल, सोयाबिन तेल र अलैंचीमा निर्भर छ । तर निर्माण सामग्री, सवारीसाधन र पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि आर्थिक वृद्धिमा असर पार्ने निश्चित छ । यस वर्ष चालु खाता घाटा १ अर्ब डलरमा सीमित छ र गत वर्ष मध्य फ्रेबुअरीसम्म यस्तो घाटा डेढ अर्ब डलर थियो । नेपालमा पुँजी प्रवाह बढेर १९ करोड ११ लाख अमेरिकी डलर पुगेको छ ।
कोरोना भाइरसका कारण सञ्चालित माथिल्लो तामाकोसी, मेलम्ची, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अर्को वर्ष मात्र सञ्चालनमा आउने अनुमान गरिएको छ । पेट्रोलियमको मूल्यमा गिरावट र आपूर्तिपक्षमा सुधार भए मुद्रास्फिति यस आवमा औसत ५.५ प्रतिशत रहने एडीबीको प्रक्षेपण छ ।