एनआईसी एशियाद्वारा गरीब तथा मजदुरलाई खाद्यान्न सहयोग
विवेक नागरी । धनगढी, २२ चैत । एनआईसी एशिया बैंकले लकडाउनबाट प्रभावित गरीव तथा ज्यालादारी गरी खानेहरुलाई तीन लाख ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न र राहत सामग्री हस्तान्तरण गरेको छ । एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले लकडाउनका कारण छाक टार्न समस्या भएका कैलाली र कञ्चनपुरका बिभिन्न क्षेत्रका एक सय ९० परिवार गरीब तथा मजदुरलाई बैंकका तर्फबाट दैनिक उपभोग्य वस्तुहरु स्थानीय तहमार्फत प्रदान गरे ।
कञ्चनपुरको बेतकोट नगरपालिका, कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरिया कैलारी र जोशीपुर गाउँपालिकाका प्रमुख मार्फत गरीब तथा विपन्न परिवारलाई चामल, दाल, नून, तेल लगायत अत्यावश्यकीय दैनिक उपभोग्य वस्तु प्रदान गरिएको बैंकले बताएको छ ।
विपत्को घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै अप्ठ्यारोमा परेका वर्गलाई बैंकका तर्फबाट अत्यावश्यकीय उपभोग्य वस्तु प्रदान गरिएको एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख भट्टले बताए ।