नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँट, ५० कित्तासम्म वितरण
काठमाडौं, २६ चैत । नेपाल पुनर्बीमा कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले बुधवार बिहान ७ः३० बजे विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालय टेकुमा आईपीओ बाँडफाँट गरेको हो । विक्री प्रबन्धकका अनुसार ४० कित्तासम्म माग गर्ने सबै आवेदकले शेयर पाएका छन् ।
५० कित्तासम्म शेयर माग गर्ने आवेदकमध्ये ७७ हजार २४५ जनाले लक्की ड्र मार्फत थप १० कित्ताका दरले ५० कित्ता शेयर हात पारेका छन् । ५० कित्तासम्म शेयर माग गर्नेले पहिलो चरणमा ४० कित्ताका दरले ३ लाख १३ हजार ६४८ जनाले शेयर पाइसकेका थिए ।
सोही आवेदकहरूमध्ये ७७ हजार २४५ जनाले थप १० कित्ता शेयर पाएका हुन् । विक्री प्रबन्धकका अनुसार १० कित्ता २७ हजार ७४८ जनाले, २० कित्ता १५ हजार ५९० जनाले, ३० कित्ता १२ हजार ७२३ जनाले, ४० कित्ता २० हजार ९२९ जनाले हात पारेका छन् ।
कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ विक्री गरेको हो ।
कुल कित्तामध्ये सर्वसाधारणका लागि १ करोड ५१ लाख २६ हजार ५०० कित्ता विक्री गरेको हो । यसबाहेक ७३ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ ।
यो आईपीओमा ३ लाख ९१ हजार ६२६ जनाको आवेदन परेकोमा ९८८ जनाको आवेदन रद्द भएको कम्पनीको भनाइ छ । यस आधारमा ३ लाख ९० हजार ६३८ जनालाई शेयर बाँडफाँट गरिएको हो ।
चैत १४ गते कम्पनीको शेयर बाँडफाँट गर्ने योजना रहको भए पनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसँगै बाँडफाँट प्रक्रिया रोकिएको थियो । कम्पनीको ८ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको थियो भने आईपीओपछि १० अर्ब चुक्तापूँजी पुगेको छ ।