Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्वतका तीन जना मिर्गौला पीडितलाई आर्थिक सहयोग

इजरायल२४ पुस

मिर्गौला रोगबाट ग्रस्त पर्वतका तीन जनालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । मातृभूमिका लागि पर्वत सेवा समाजले उनीहरुलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।

समाजको इजरायल शाखाको पहलमा संकलन गरिएको सो रकम कुश्मा नगरपालिका १६ पिपलटारीका देबीबहादुर भनिने रामभक्त बिक, कुश्मा नगरपालिका खुर्कोटकी संगीता शर्मा र राम्जादेउराली गाविस ३ गोतामेथरकी अनिता पौडेललाई उपलब्ध गराएको मातृभूमिका लागि पर्वत सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष अर्जुनप्रसाद पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलका अनुसार शनिबार कुश्मास्थित पर्वत उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच बिकलाई ७० हजार, शर्मा र पौडेललाई जनही २०÷२० हजार नगद हस्तान्तरण गरिएको हो ।

आर्थिक सहयोग गरिएका तीनै जना मिर्गौला रोगका पीडित हुन । उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा केही राहत पुगोस भनेर आर्थिक सहयोग गरेको समाजकी इजरायल शाखा महासचिव दिया चापागाईंले बताइन ।

समाजका इजरायल शाखा अध्यक्ष अनिरुद्र सुवेदी र महासचिव दिया चापागाईंको पहलमा मिर्गौला रोगका पीडित रामभक्तलाई आर्थिक सहयोग गर्ने उद्देश्यले इजरायलमा ‘रामभक्त बचाउँ अभियान’ समेत थालिएको थियो ।

‘समाजको दोस्रो वार्षिकोत्सवको अवसर पारेर संकलित रकम रामभक्त लगायत अन्य थप दुई जनालाई उपलब्ध गराएका हौं’, महासचिव चापागाईंले भनिन्–‘अझै मिर्गौला रोगका पीडितलाई आर्थिक संकलन अभियान जारी रहेको छ ।’ समाजको दोस्रो वार्षिकोत्सव यही जनवरी २७ तारिखका दिन इजरायलको तेलअभिवमा हुँदैछ ।

मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रहेका पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले पराइँको मुलुक रहेका पर्वतबासी आबद्ध मातृभूमिका लागि पर्वत सेवा समाजले मिर्गौला पीडितलाई आर्थिक उपलब्ध गराई धेरै रचनात्मक कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

साथै उनले आउँदा दिनहरुमा पनि आफ्नो गाउँठाउँको लागि विभिन्न सामाजिक कार्यमा क्रियाशिल रहिरहन मातृभूमिका लागि पर्वत सेवा समाजलाई आग्रह गरे ।

मिर्गौला रोगबाट पीडित थियौं । मातृभूमिका लागि पर्वत सेवा समाज इजरायले आफूहरुको पीडा थाहा पाएर आर्थिक सहयोग गरेकोमा धेरै खुशी लागेको पीडित रामभक्त बिकले बताए ।

समाजका केन्द्रीय अध्यक्ष अर्जुनप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष केदारनाथ शर्मा, महासचिव ठाकुर पौडेल, सिसेफ नेपालका अध्यक्ष थमनारायण पौडेल लगायतको उपस्थिति रहेको थियो ।

फोटो क्याप्सनः मिर्गौला पीडित रामभक्त बिकलाई रकम हस्तान्तरण गर्दै पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x