Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

५४ अर्ब नाफा कमाउने बैंकहरूबीच नाफा युद्ध: कसले जित्यो, कसले गुमायो?

५४ अर्ब नाफा कमाउने बैंकहरूबीच नाफा युद्ध: कसले जित्यो, कसले गुमायो?

काठमाडाैं, ३१ असार । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मको ११ महिनामा नेपालका २० वटा वाणिज्य बैंकहरूले झन्डै ५४ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यद्यपि यो संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ४.९७ प्रतिशतले घटेको देखिन्छ। अघिल्लो वर्ष यिनै बैंकहरूले यही अवधिमा ५६ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।

यतिबेला वाणिज्य बैंकहरूको आम्दानीमा मिश्रित अवस्था देखिएको छ। केही बैंकहरूले आक्रामक वृद्धि गरेका छन् भने, केहीको नाफा उल्लेखनीय रूपमा घटेको छ। हालसम्मको तथ्यांकले देखाउँछ कि नेपालको बैंकिङ प्रणाली अझै प्रतिस्पर्धात्मक अवस्था मै छ, तर नीतिगत स्पष्टता, ब्याजदरको उतारचढाव र लगानी प्रवाहको प्रभावले बैंकहरूको आम्दानीमा प्रत्यक्ष असर पारिरहेको छ।

नाफाको आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ। ११ महिनामा बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.१० प्रतिशतको सामान्य वृद्धि हो। नाफाको कुल रकममा अग्रता लिए पनि वृद्धिदर भने कम भएको हो। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गर्दै १८.५९ प्रतिशतको वृद्धि गर्न सफल भएको छ।

तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ, जसले नाफा २९.८३ प्रतिशतले बढाउँदै ५ अर्ब ६८ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ। यो वृद्धिदर ग्लोबलभन्दा पनि माथि छ, यद्यपि नाफाको कुल रकममा भने तेस्रो हो। चौथो स्थानमा एभरेष्ट बैंकले २८ प्रतिशतको वृद्धि गर्दै ४ अर्ब २४ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ।

नाफा वृद्धिदरको हिसाबले नेपाल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले गत आवको तुलनामा १८५.२७ प्रतिशतले नाफा बढाएर ३ अर्ब ७ करोड ६ लाख रुपैयाँ कमाएको हो। यो वृद्धिदरले बैंकको व्यवस्थापन सुधार र रणनीतिक निर्णय प्रभावकारी भएको संकेत गर्छ।

अन्य बैंकहरूमा पनि सन्तुलित वृद्धि देखिएको छ। माछापुच्छ्रे बैंकको नाफा १७.५३ प्रतिशत, एनएमबिको ९.१८ प्रतिशत, लक्ष्मी सनराइजको ८.६३ प्रतिशत र सानिमा बैंकको ३.१३ प्रतिशत वृद्धिदर रहेको छ।

तर, सबै बैंकको अवस्था समान छैन। कुमारी बैंकको नाफा ७७.८४ प्रतिशतले घटेर मात्र ३७ करोड १० लाख रुपैयाँमा सीमित भएको छ। यस्तै हिमालयन बैंकको नाफा ६७.२७ प्रतिशत, एनआईसी एशिया बैंकको ६२.८८ प्रतिशत, कृषि विकास बैंकको ३९.८५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २८.०९ प्रतिशत, प्रभू बैंकको २३.८० प्रतिशत, सिटिजन बैंकको १९.६६ प्रतिशत, र प्राइम बैंकको १८.२९ प्रतिशतले घटेको छ।

यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि ९.७० प्रतिशत नाफा घटाएको छ। नेपाल एसबिआई बैंकको नाफा ६.९६ प्रतिशतले घटेको छ भने सिद्धार्थ बैंकको २.२९ प्रतिशत नाफा घटेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *